सोलुखुम्बु, फागुन ९ । सरकाले आफ्नो माग सम्बोधन नगरेको भन्दै सोलुखुम्बुका शिक्षक एक्सनमा उत्तिएर शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाएका छन् । आज शुक्रबार नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
सरकारले संसद्को हिउँदे अधिवेशनबाट शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक महासङ्घ सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाले बताउनुभयो ।
अस्थायी प्रकृतिको शिक्षक सम्बन्धमा, कार्यसम्पादन मूल्याङ्कन, शिक्षक कर्मचारीको सरुवा लगाएका विषयलाई विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षकहरूको माग रहेको उहाँले बताउनुभयो ।
विगतमा भएको सबै सहमति सम्बोधन हुने गरी विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन आन्दोलनमा जानु बाहेक कुनै विकल्प नरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
शिक्षकहरुले बुझाएको ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुख बिर्मा कुमारी डाँगीले बुझ्नु भएको थियो । नेपाल शिक्षक महासङ्घले २०८० असोज ३ गतेदेखि ५ गतेसम्म ३ दिन काठमाडौँमा राष्ट्रिय शैक्षिक आन्दोलन घोषणा गरी आन्दोलन गरेको थियो ।
सरकारको तर्फबाट असोज ५ गते २२ बुँदे मागलाई समेटेर ६ वटा बुँदा र उपबुँदाहरू हुनेगरि वार्ता गरिए पनि हालसम्म पनि कार्यान्वयन नभएकाले ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक सङ्घ सोलुखुम्बुले जनाएको छ ।
नेपाल शिक्षक महासँघले गत माघ १६ र १७ गते पहिलो चरणको आन्दोलनको घोषणा गरेको थियो । सोहिअनुसार सोलुखुम्बुका शिक्षक महासंघले फागुन ६ गते स्थानीय तह मार्फत ध्यानाकर्षण पत्र बुझाएको थियो ।
उक्त ध्यानाकर्षण पत्रको सरकारले कुनै चासो नदेखाए पछि आज शुक्रबार दोस्रो चरण शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक संगठन सोलुखुम्बुका अध्यक्ष टंक दाहालले बताउनुभयो ।