सोलुखुम्बु, फागुन १२ । हिमाली जिल्ला सोलुखुम्बुसहित देश भर भाइरल ज्वरोका बिरामीहरु बढ्दै गएका छन् । मौसममा आएको परिवर्तनले गर्दा सोलुखुम्बु जिल्लासहित देश भरका नै ज्वरोका बिरामीहरु बढ्दै गएका हुन् ।
भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग भएकाले गर्दा पनि फैलिने गरिने बिरामीहरुले बताउने गरेका छन् ।
विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने, रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने र रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गरेकाले आवश्यक सावधानी अपनाउनु पर्नु जिल्ला अस्पताल फाप्लुका डा.श्रेया पंगेनीले बताउनुभयो ।
एक्कासी ज्वरो बढ्ने र रोकिनु,चिसो महशुस हुनु, हल्का खोकी लाग्नु, शरिर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु, वाकवाकी लाग्नु, कम्जोर महशुस हुनु, अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु तथा आँखा रातो हुनु भाइरल ज्वराको लक्षणहरु भएका उहाँले बताउनुभयो ।
जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको माउन्ट एभरेस्ट इङ्लिस सेकेण्डरी स्कुलका विद्यार्थीलाई भाइरल ज्वरो फैलिए पछि केही दिन अगाडी विद्यालय बन्द गरिएको थियो । विद्यालय बन्द गरिएसँगै नगरपालिका, विद्यालय, जिल्ला अस्पताल फाप्लु र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त बैठकले विद्यार्थीहरुको स्वास्थ्य उपचार गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज सोमबार १७३ जना विद्यार्थीलाई चेक जाँच गर्दा ५ जनालाई भने अस्पताल रेफर गरिएको डा. पंगेनीले बताउनुभयो ।
वर्षा यामको शुरुवात र अन्त्यमा तथा जाडो यामको सुरु र अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गरेको चिकित्सकहरुले बताउने गरेका छन् ।
मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गरेकाले जिल्ला अस्पताल फाप्लुमा पहिलेको तुलनामा उपचारका लागि आउने बिरामीको संख्या बढ्नै गएको उहाँले बताउनुभयो ।
भाइरल ज्वरोले सताउन थालेपछि पहिलेको तुलनामा बिरामीको संख्या समेत बृद्धि हुन थालेको सरकारी तथा प्राइभेट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बिरामी छन् भने सामान्य रुघाखोकीले पनि निमोनिया हुन सक्ने बताइएको छ ।
वृद्दवृद्वा, दीर्घरोगि, दमका बिरामीहरु, सुगरका बिरामी, कडा खालको औषधि खाईरहेको बिरामीहरु, क्यान्सर, किड्नीका बिरामी, गर्भवती र बालबालिकाहरुलाई मौसमी रुघाखोकीको जोखिमको सम्भावना रहने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । त्यसैले बेलैमा उक्त रोगहरु देखिना साथ उपचार गर्नु पर्ने बताइएको छ ।
– फायल फोटो