सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको थामे स्वास्थ्य चौकी पुन निर्माणका लागि जग्गा प्राप्त भएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ मा रहेको थामे स्वास्थ्य चौकी पुन निमार्णका लागि निशुल्क जग्गा प्राप्त भएको हो ।
स्वास्थ्य चौकी निमार्णका लागि स्थानीय निमा सेर्पिनीले ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
स्वर्गीय श्रीमान् साङ्गे छोतर शेर्पाको सम्झनामा निमा सेर्पिनीले ३५ लाख मूल्य बराबरको १ सय ३० वर्ग मिटर जग्गा हिमालयन ट्रस्ट नेपालको नाममा मालपोत कार्यालय सोलुखुम्बु मार्फत निःशुल्क रूपमा पास गरिदिएको बताउनुभयो ।
गत साउन ३२ गते थामेमा गएको बाढिका कारण पूर्ण रूपमा क्षति भएको थामे स्वास्थ्य चौकी पुन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरको उहाँले बताउनुभयो ।
थामे स्वास्थ्य चौकी बाढीले बगाएपछि हिमालयन ट्रस्टले घर भाडामा लिई अस्थायी रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
प्राप्त जग्गामा हिमालयन ट्रस्टले नयाँ स्वास्थ्य चौकी निर्माण गरी पुनः स्वास्थ्य सेवा निःशुल्क रूपमा सुचारु गर्ने योजना रहेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।
नयाँ स्वास्थ्य चौकी भवन निमार्ण गर्नका लागि १ करोड हाराहारीको बजेट आवश्यक पर्ने डा.कामी तेम्बा शेर्पाेको भनाइ रहेको छ ।
हिमालयन ट्रस्ट नेपालले थामे स्वास्थ्य चौकीमा महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका लगायतलाई निःशुल्क रूपमा प्राथमिक उपचार गर्दै आएको छ ।
– फायल फोटो