सोलुखुम्बु, फागुन १५ । हिमाली जिल्ला सोलुखुम्बुबाट १४ जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा १४ जना गर्भवती सुत्केरी महिलाको उद्धार गरिएको हो ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी अवस्थामा जटिल समस्या भएका गर्भवती सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उद्धार गरिएका सम्पुर्ण गर्भवती–सुत्केरीलाई काठमाण्डौका विभिन्न अस्पतालमा रेफर गरिएको जनाइएको छ । ज्यान उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।
सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जान सक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानिय तहका प्रमुख, उपप्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस तथा गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भईरहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।