स्प्रिङ सिजन सुरु भएसँगै २ दिनमा ३८१ जना पर्यटक लुक्ला भित्रिए

  नवराज सिग्देल
175 Shares

सोलुखुम्बु, फागुन १८ । स्प्रिङ सिजन सुरु भएसँगै सोलुखुम्बको लुक्लामा विदेशी पर्यटक भित्रिन थालेका छन् । काठमाण्डौंबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हिजोबाट पर्यटक आउन थालेका हुन् । यस वर्षको स्प्रिङ सिजन फागुनको १७ गते शनिबारबाट सुरु भएको हो ।

सिजन सुरु भएसँगै विदेशी नागरिकहरु सगरमाथा भ्रमण गर्नका लागि खुम्बु आउने गरेका छन् । आज आइतबार एकै दिन १३ जहाज मार्फत सयौंको संख्यामा पर्यटक लुक्ला आइपुगेका लुक्ला विमानस्थलमा कार्यरत एटिसी अपरेटर दिवस दाहालले बताउनुभयो ।

उहाँका अनुसार १३ उडानबाट २ सय १५ जना विदेशी लुक्लामा आएका छन् । पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

मंसिरको अन्तिमदेखी सुनसान जस्तै रहेको विमानस्थल पुन : सञ्चालनमा आएको छ ।  लुक्ला विमानस्थलमा  सिता, समिट र तारा कम्पनीका जहाजले उडान भर्ने गरेका छन् ।

विगतका समयमा हेलिकप्टरले समेत उडान गर्ने गरेको भएपनि यसपाली भने खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्ज बिच विवाद हुँदा हेली सञ्चालन बन्द भएको छ । स्प्रिङ सिजनमा हिजो शनिबार १६६ र आज आइतबार २१५ जना गरेर ३ सय ८१ जना विदेशी पर्यटक लुक्ला आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार