सोलुखुम्बु, फागुन २१ । सोलुखुम्बुको थामेका बाढी पिडितलाई २५ हजारका दरले रकम निकासा गरिने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गत साउन ३२ गते थामेमा आएको बाढीले क्षति पुगेका ५० घर निमार्णको लागि पहिलो किस्ता वापतको २५ हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
यसैगरी सोलुदुधकुण्ड नगरपालिका ५ मा निमार्णाधिन अवस्थामा रहेको सामुदायिक भवनलाई पहिरोले क्षतिग्रस्त बनाएकाले पहिरो व्यवस्थापनका लागि प्राविधिक लागत अनुमानसहित सहरी विकास तथा भवन कार्यालयमा सिफारिस गरिने तथा असोज १० गतेदेखि १३ गतेसम्म परेको वर्षाका कारण प्रभावित भएका ३१ वटा पुर्वाधार तथा संरचना मर्मतका लागि खानेपानी सिचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशमा सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै विपद व्यवस्थापनका लागि आधारभुत सामाग्रीहरुका साथै, सोलुदुधकुण्ड नगरपालिका र सोताङ गाउँपालिकाको दमकल सोताङमा राख्ने र विपतको बेलामा उक्त दमकलले महाकुलुङलाई समेत सहयोग गर्नु पर्ने जनाइएको छ ।
विकासमा कोही कसैले पनि राजनिति गर्न नहुने र राजनिति भएको खण्डमा विकास भने जति गर्न नसकिने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
यस्तै कोशी प्रदेशका सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुबासीले जिल्लामा उत्पादन भएको विद्युत उपभोग गर्न पाउनु पर्ने र ओखलढुंगा तथा खोटाङमा विद्युत बन्द हुँदा त्यसको मारमा सोलुले भोग्न नहुने धारणा राख्नुभयो ।
यस्तै विपतको बेला आफैले आवश्यक सजकता अपनाउन सकिएको खण्डमा आगलागीको घटना कम हुने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला सबै पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।