फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढ्यो, प्राविधिक र मेयरसहितको टोलीद्वारा स्थलगत निरिक्षण

सोलुखुम्बु, फागुन २२ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण (‘रिफ्युलिङ सेन्टर’) स्थापना हुने प्रक्रिया अघि बढेको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले आज विहिबार स्थल निरीक्षण गर्दै सो परियोजना कार्यान्वयनको सम्भावना अध्ययन गरेका छन ।

यदि फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौं उडानहरू थप सहज हुने अपेक्षा गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगर प्रम्ख नाम्गेज जाङ्बु शेर्पाले बताउनुभयो ।

जिल्ला सदरमुकामसँगै रहेको फाप्लु विमानस्थललाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ सिधा काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्ला उडानलाई सहज बनाउन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको नगरप्रमुख शेर्पाले बताउनुभयो । स्थलगत निरिक्षणमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, रक्षामन्त्री राईका स्वकीय सचिव बच्चुनारायण श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो ।

यसै सन्दर्भमा नेपाल सरकारका रक्षामन्त्री एवं संघीय सांसद मानवीर राईले फाप्लु विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सकिएमा सोलुखुम्बुको समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो ।

फाप्लुमा नियमित उडान नहुँदा सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रभावित भएको र आकस्मिक उद्धार तथा स्थानीय यात्रुहरूको हवाई यात्रामा समस्या आइरहेको छ ।

यसलाई सम्बोधन गर्दै हवाई इन्धन सेन्टर स्थापना भएपछि नियमित उडानलाई सहज बनाउन सकिने पर्यटन व्यवसायीहरूले बताएका छन् । यो परियोजना कार्यान्वयन भएपछि फाप्लु, लुक्ला लगायतका विमानस्थलहरूमा हुने हवाई चाप व्यवस्थापन गर्न मद्दत पुग्ने र हिमाली पर्यटन प्रवद्र्धनमा नयाँ युगको सुरुवात हुने स्थानीय पर्यटन व्यवसायीहरूको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार