सोलुखुम्बु, फागुन २६ । खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले विनियोजन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत ५० प्रतिशत अनुदानमा २२ वटा हाते ट्याक्तर वितरण गरेको कृषि शाखा प्रमुख द्रोणराज रेग्मीले बताउनुभयो ।
किसानको ५० प्रतिशत र पालिकाको ५० प्रतिशत लगानीमा खरिद गरेर उक्त ट्याक्टर वितरण गरिएको हो । पालिकाले यस वर्ष ट्याक्टर खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख रेग्मीले बताउनुभयो ।
पालिकाका ६ वटै वडाका व्यक्ति, समूह तथा कृषि फर्मले दिइएको निवेदनका आधारमा छनोट गरेर ट्याक्टर वितरण गरिएको हो । ५० प्रतिशत छुटमा किसानले उक्त ट्याक्टरलाई ४० रुपैयाँ तिरेको जनाइएको छ । विशेष गरेर टार बारी हुनेहरुले भने यस ट्याक्टरले जोत्नका लागि सजिलो हुने प्रतिक्रिया दिएका छन् ।