सोलुखुम्बु, फागुन २६ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङकोे विशेष पहलमा पहिरो पीडितका लागि ३१ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम जुटेको छ । वडाले चलाएको सहयोग संकलन अभियान मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट ३१ लाख ४ हजार २९३ रुपैयाँ सहयोग रकम जुटेको हो ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै गएको पहिरोमा परी गोराखानी र टाप्टिङका दुई घरका पाँच जनाले ज्यान गुमाएका थिए । प्रभावित परिवारको पुनस्र्थापनाका लागि विभिन्न दाता तथा संघ संस्थाबाट संकलित ३१ संकलित सहयोग रकम आज एक औपचारिक कार्यक्रमकाबीच पीडित परिवारलाई प्रदान गरिएको सोलुदुधकुण्ड नगरपालिका १० का वडाध्यक्ष समेत रहनुभएका सहयोग संकलन अभियान्ता होम बहादुर मगरले बताउनुभयो ।
उहाँका अनुसार मृतक कविता मगरका श्रीमान चैलुङका कमल मगरको घर निर्माणका लागि ४ लाख ९० हजार २ सय २९ रुपैयाँ प्रदान गरिएको छ । बाँकी रहेको २६ लाख १४ हजार ६४ रुपैयाँ पहिरोबाट प्रभावित घरका चार जना बालबालिकाका नाममा प्रतिव्यक्ति ६ लाख ५३ हजार ५ सय १६ रुपैयाँका दरले सल्लेरीस्थित लक्ष्मी सनराइज बैंकमा १० वर्षका लागि स्थायी निक्षेप (फिक्स डिपोजिट) गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।
त्यसैगरी असोज ११ र १२ गतेको पहिरोबाट प्रभावित सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी छेवरका बाढी पीडित गेल्जे तामाङका दुई बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि यसअघि ४० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसै क्रममा आज थप ७० हजार रुपैयाँ सहयोग प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
स्थानीय सरकार र विभिन्न सहयोगी संघ संस्थाहरूको समन्वयमा पहिरो प्रभावित बालबालिकाहरूको शिक्षामा लगानी गरिएको यस कदमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।