सोलुखुम्बु, फागुन २७ । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व उपसभापति, पूर्व स्थानीय विकास अधिकृत तथा प्रशासक, समाजसेवी एवं सत्यनिष्ठ राजनीतिज्ञ गणेश बहादुर बस्नेतको १०२ वर्षको उमेरमा निधन भएको छ ।
बस्नेतको आज काठमाण्डौँको चाबहिल कुमारीगालस्थित निजी निवासमा निधन भएको हो । स्वर्गीय बस्नेत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल निवासी तथा साविक काँगेल गाविसका अध्यक्ष समेत हुनुहुन्थ्यो ।
उहाँले आफ्नो जीवनभर समाजसेवा र इमान्दार राजनीतिमा योगदान पु¥याउनुभएको थियो । उहाँको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन् ।
कांग्रेस युवा नेता नवीन थापाका अनुसार स्वर्गिय बस्नेतको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम श्रद्धाञ्जली स्वरूप नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा, केन्द्रीय सदस्य बलबहादुर केसी, केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा, कांग्रेस सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धासुमन अर्पण गरेका थिए ।
केन्द्रीय सदस्य शेर्पाले बस्नेतको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको भन्दै उहाँ सत्यनिष्ठ राजनीति गर्ने इमान्दार व्यक्ति रहेको उल्लेख गर्नुभयो ।
श्रद्धाञ्जली दिन सोलुखुम्बुका संघीय सांसद एवं नेपाल सरकारका रक्षामन्त्री मानबिर राई पनि पशुपति आर्यघाट पुनुभएको थियो ।