‘आइसफल डाक्टर’को टोली सगरमाथा चढ्ने बाटो बनाउन आधार शिविर प्रस्थान

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु,फागुन २८ । ‘आइसफल डाक्टर’को टोली सगरमाथा चढ्ने बाटो बनाउन आधार शिविर प्रस्थान गरेको छ । हिमाल आरोहण सिजन सुरु भएसँगै सगरमाथा चढ्ने बाटो बनाउन ‘आइसफल डाक्टर’को टोली आधार शिविरतर्फ प्रस्थान गरेको हो । खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्नको जिम्मा पाएको उक्त टोलीलाई सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले सगरमाथा आधार शिविर पठाएको हो ।

सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।

टोलीमा आधारशिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पासहित आठ जना ‘आइसफल डाक्टर’ र दुईवटा टोलीको आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गर्नु भएको छ । टोलीमा दाबा नुरु शेर्पा, निम तेन्जी शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, दाबा छिरी शेर्पा, लाक्पा सोना शेर्पा र तेन्डु शेर्पा छन् ।

हिमाल आरोहणको उपयुक्त मौसम वसन्त ऋतुका लागि अनुभवी बाटो बनाउने टोली नाम्चे बजारबाट बन्दोबस्तीका सामानसहित आधारशिविर पठाइएको एसपीसीसी अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

आधार शिविरतर्फ प्रस्थान गरेको उक्त टोलीले बौद्ध परम्पराअनुसार लामालाई साइत हेराएपश्चात् हिमालको प्रार्थना र पूजा गरेर मात्रै बाटो बनाउने काम सुरु हुने शेर्पाले बताउनुभयो ।

सगरमाथाको दोस्रो आधार शिविरसम्म बाटो बनाउन २० दिन लाग्ने एसपीसीसीले जनाएको छ । अत्यन्तै जोखिमपूर्ण मानिने बाटो बनाउन कार्यमा उनीहरूको टोलीले दोस्रो आधार शिविरसम्म डोरी टाँग्ने र अप्ठ्यारो ठाउँमा भ¥याङ हाल्ने बताइएको छ ।

सगरमाथा क्षेत्रमा बाटो बनाउने र सरसफाइको काम सगरमाथा प्रदूषण नियन्त्रण समितिले गर्दै आएको छ । उक्त काम गरेबापत समितिले आरोहण दलमा आउने प्रत्येक विदेशी नागरिकसँग ६ सय अमेरिकी डलर लिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार