सोलुखुम्बु, फागुन २८ । बाढीले क्षतविक्षत भएको विपी राजमार्ग स्थायी रूपमा निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । गत असोज ११,१२ र १३ गते आएको बाढीका कारणले क्षति ग्रस्त भएको विपी राजमार्ग पुन निमार्णका लागि ठेक्का आह्वान गरिएको हो ।
सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले आज बुधबार ठेक्का आह्वान गरेको जनाएको छ । अर्थ मन्त्रालयले वीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
ठेक्का सम्झौता भएर निर्माण व्यवसायी परिचालन गर्न कम्तीमा एक सय ५० दिन लाग्ने छ । ठेक्का सम्झौतापछि बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपाल थोकसम्मको करिब २८ किलो मिटर सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ ।
जस अन्तगर्त सिन्धुलीतर्फ साढे २ किलोमिटर पर्नेछ भने बाँकी सबै काभ्रे जिल्लाको खण्डमा पर्ने छ । दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ ।
गत असोजमा आएको बाढीले क्षति गरेको सडक निर्माणका लागि स्रोतको समस्या भएको थियो । स्रोत सुनिश्चित नहुँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न अलमलमा परेको थियो ।
वीपी राजमार्गलाई अर्थ मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।
सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर लगायत पुर्वका जिल्लाबाट संघीय राजधानी काठमाण्डौं आवातआवात गर्नेहरुले विपी राजमार्गको बाटो प्रयोग गरेका छन् ।