रक्षामन्त्री राईको पहलमा स्थानियले श्रमदान मार्फत खुलाए तिनकुने–कारागार सडक

सोलुखुम्ब, फागुन २९ । सोलुखुम्बुबाट निर्वाचित सांसद एवं नेपाल सरकारका रक्षामन्त्री मानवीर राईको पहलमा सल्लेरी देखी तिनकुने–कारागार सडक खोल्ने कार्य सुरु गरिएको छ । आज विहिबारबाट रक्षामन्त्री राईको पहलमा सोलुदुधकुण्ड नगरपालिका ५ तिनकुनेबाट कारागार लगायतका क्षेत्रमा सवारी साधन आवतजावतका लागि सडक खोल्ने कार्य सुरु गरिएको हो ।

विगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको उक्त क्षेत्रमा रक्षा मन्त्री राईको पहलमा सो बाटो संचालनका लागि सहमति भएको हो । उहाँले पटक पटक नेपाली सेनाका प्रधानसेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा संवाद गर्दै स्थानियको आवश्यकतालाई मध्यनजर गरी बाटो खोल्न प्रयास थाल्नु भएको थियो ।

सडक खोल्नका लागि स्थानियबासीले जनश्रमदान गरेका छन् । जमिन कमसल र भासिने भएकाले डोजर तथा जेसिबीको प्रयोग नगरी स्थानियहरुबाट बाटो खोल्ने कार्य गरिएको उनीहरुले बताएका छन् ।

तत्कालाई भने चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन मात्र संचालनका लागि बाटो खोल्ने सहमति भएको जनाइएको छ । सडक सञ्चालनका लागि नेपाली सेनाले सहमति दिएसँगै सहज भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । उक्त बाटो खुलेसंगै सल्लेरीको माथिल्लो क्षेत्रका करिव एक हजार तीन सय घर परिवार लाभान्वित हुने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार