सोलुखुम्बु, फागुन २९ । सोलुखुम्बुमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि प्रस्तुत गर्ने एक दर्जन भन्दा बढीलाई सम्झाइ बुझाइ छोडिएको छ । आज बिहिबार फागु पूर्णिमाको दिन जिल्ला सदरमुकाम सल्लेरीसहित विभिन्न ठाउँमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरुलई सम्झाइ बुझाइ छोडिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार जिल्ला सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार, नेले, जोरबौद्धसहित मुख्य बजार क्षेत्रहरुमा जबरजस्ती रंग दल्ने, लोला हान्ने तथा मादक पदार्थ सेवन गरी अबाञ्चित गतिविधि गर्ने एक दर्जन जना भन्दा बढीलाई प्रहरीले सम्झाइ बुझाइ गरिएको हो ।
यो समाचार तयार पार्दा सम्म होली खेल्ने क्रम अहिले पनि जारी रहेकाले सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी सकृय गराइएको प्रनाउ घिमिरेले बताउनुभयो । विशेष गरेर यस दिनमा केटाकेटी युवायुवती एवं वृद्धवृद्धाले समेत एक अर्कामा रङ्ग दलेर भव्यताका साथ आपसी सदभाव तथा खुसी साटासाट गरेर होली मनाएका हुन् ।
जिल्लामा होली पर्वलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले सुचना नै जारी गरेको थियो । फागु पूर्णिमाको बेलामा पहाडमा र तराईमा दुई दिन होली मनाइन्छ । पछिल्लो समय सोलुखुम्बु सहितका ठाउँहरुमा होलीका दिनमा सेता टिसर्ट लगाएर नाच्ने गाउने चलन बढ्दै गएको छ ।
सेता कपडालाई प्रतिकको चिन्ह मानिने भएकाले सेता टिसर्टहरू होली खेल्नेहरूले लगाउने गरेका छन् । विगतका दिनहरूमा जस्तो यस वर्ष भने मौसमले साथ नदिएका कारण सेतो टिसर्ट बिक्रीमा कमी आएकोे सल्लेरीका एक व्यवसायी यमुना राईले बताउनुभयो ।
वर्ष दिनमा आउने होलीमा लोला हानेर रङ दलेर एकअर्कामा सद्भाव साटेर मनाइने गरेको सल्लेरीमा होली खेलिरहनु भएको अवस्थामा भेटिएका अर्जुन ढुंगानाले बताउनुभयो । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हादलाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्बको अघिल्लो दिन त्यही होलिका बनाई दहन गरी मनाइने गरिएको पर्व हो ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने र दल्ने चलन छ । नेपालमा यो चाड असाध्य धुमधाम गरी अरु ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाउँन थालिएको छ । तस्बिर : फायल