खुम्बुको मञ्जोखोला मिनी हाईड्रो आयोजनाको ठेक्का रद्द, २७ करोड अनुदान फिर्ता

सोलुखुम्बु, चैत्र १ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा निमार्ण गरिने भनिएको मञ्जोखोला मिनीहाईड्रोको ठेक्का प्रक्रिया नै रद्व भएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ मा निमार्ण गरिने भनिएको ९४३ किलोवाटको मञ्जोखोला मिनी हाइड्रोपावरको अन्ततः ठेक्का प्रक्रिया रद्व भएको हो । उक्त ठेक्का प्रक्रिया रद्व भएसँगै निमार्णका लागि भनेर आएको २७ करोड रुपैयाँ भन्दा बढी अनुदान रकम फिर्ता जाने निश्चित भएको छ ।

स्थानीयको आरोप : राजनैतिक खेलमा परियोजना

सञ्चालक समितिका सदस्य पासाङ शेर्पाका अनुसार आयोजनाका लागि ५५५ घरधुरी लाभान्वित हुने र स्थानीयलाई सेयर सदस्य बनाएर सञ्चालन गर्ने योजना थियो । उहाँले राजनीतिक पूर्वाग्रहकै कारण परियोजना रोकिएको आरोप लगाउनुभयो । परियोजना रद्द भएपछि प्रतिव्यक्ति ३ लाखका दरले संकलित २१ लाख रुपैयाँको प्रतिब्यक्ति दरौटी रकम फिर्ता हुनुपर्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।

कुल लागत ५७ करोड १६ लाख रुपैयाँ रहेको उक्त आयोजना लागि एइपीसीबाट २७ करोड अनुदान, बैंक लोन तथा निजी लगानी संकलन गरिएको थियो । शेर्पाका अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्र (एइपीसी) को अनुदान, गाउँपालिकाको संस्थापक शेयर लागत तथा स्थानीयहरुबाट प्राईभेट शेयर संकलन गरी मञ्जोखोला मिनी हाईड्रो निर्माण गरिने भनिएको हो ।

पनि ठेक्का प्रकृयामा जानबाट गाउँपालिका पछि हटेसँगै २७ करोड ४८ लाख ५५ हजार रुपैयाँ अनुदान रकम फिर्ता जाने भएको हो । पब्लिक मोडलमा कम्पनी स्थापना गरेर निर्माण गर्न लागिएको उक्त आयोजनाको १८ महिनाभित्र निमार्ण कार्य सक्ने गरी २०८१ श्रावण १६ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्र (एइपीसी) बिच सम्झौता भएकोे थियो ।

तर उक्त विद्युतको पावर हाउस रहने जग्गा आफ्नो भएकाले पालिका आयोजना अघि बढाउनबाट पालिका प्रतिशोधपुर्ण ढंगबाट पछि हटेको विद्यूत सञ्चालक समितिका सदस्य पासाङ शेर्पाले आरोप लगाउनुभयो ।

पावर हाउस बनाउने लगायतका जग्गा समेत आफुले विद्युतको नाममा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि पालिकाकाजनप्रतिनिधिहरुले राजनिधिक प्रतिशोध साँधेर आयोजनाको ठेक्का नै भंग गरेको उहाँको भनाइ छ ।

“राजनिधिक हिसाबले म फरक पार्टीमा आस्था राख्छु तथापि मैले गाउँको विकास हुन्छ भन्ने हेतुले विद्युतका लागि आवश्यक जग्गा निशुल्क नै भएपनि उपलब्ध गराउछु भनेको हुँ तर पालिकाका जनप्रतिधि साथीहरुले मैले जस लिन्छ भन्ने सोचेर होला आयोजना नै रद्ध गर्नुभयो, यसले उहाँहरुको प्रतिशोध त सफल भयो होला तर त्यसको चेपुवामा नागरिकहरु पर्न जान्छ ।” सदस्य शेर्पाले भन्नुभयो


आयोजना अघि बढाउदा स्थानीय नागरिकहरु समेत विद्युतको लगानीकर्ता भन्ने अवसर थियो भने विद्युतका लागि अन्यत्र जाने रकम पालिकामै अड्याउन सक्ने सम्भावना रहेको शेर्पाले बताउनुभयो । आयोजना नै रद्ध भएपछि पालिका भित्रको विकासका लागि आएको करोडौ रकम अनुदान समेत फिर्ता जाने भएको उहाँको चिन्ता छ ।

आयोजना सञ्चालनका लागि ७ जना कार्यसमिति सदस्यबाट प्रतिव्यक्ति ३ लाखका दरले जम्मा २१ लाख रुपैयाँ बजेट समेत आयोजनाको नामको खातामा दरौटी राखिएको बताइएको छ ।

आयोजना रद्व हुने भएसँगै उक्त रकम आफूहरुले फिर्ता पाउनुु पर्ने निमार्ण सञ्चालक समितिका उपाध्यक्ष निमा तेन्जी शेर्पाले बताउनुभयो । पालिकाले आफुखुसी आयोजना रद्ध गरेपनि आफुहरुले संकलन गरेको रकमको बारेमा कुनै जानकारी नगराएको उहाँको भनाइ छ । उक्त विद्युतले जोरसल्ले, चौरीखर्क तथा लुक्लाका ५ सय ५५ घरधुरी लावान्भित हुने बताइएको छ ।

मन्जोखोला मिनि हाइड्रोको निमार्णको गर्नका लागि कुल ५७ करोड १६ लाख ११ हजार १ सय ४० रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जसमा अनुदानबाट २७ करोड ४८ लाख ५५ हजार, इन्भेष्ट बैंकबाट १५ करोड ६७ लाख ५३ हजार १ सय ४० र बैंक लोन मार्फत १४ करोड रपैयाँको लगानी रहेको सञ्चालक समितिका उपाध्यक्ष शेर्पाले बताउनुभयो ।

यद्यपि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँग मञ्जोखोला मिनीहाईड्रोको विषयलाई लिएर बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यता गाउँपालिका अध्यक्ष समेत रहनुभएका विद्युत आयोजना समिति अध्यक्ष मिङ्मा छिरी शेर्पालाई सम्पर्क गर्दा उहाँ सम्प्र्कमा आउन चहानुभएन ।

गाउँ कार्यपालिका सदस्य ल्हाक्पा ग्याल्जेन शेर्पाले गत साउन ३२ गते थामेमा आएको बाढीका कारणले खुम्बु विजुलीमा क्षति पुर्याएकाले मञ्जोखोला मिनीहाईड्रो आयोजना निमार्णको ठेक्का रद्ध गरिएको बताउनुभयो ।

उक्त आयोजना रद्व भएसँगै गाउँपालिकाले राष्ट्रिय प्रसारणको लाइन ल्याएर खुम्बु बासीलाई वितरण गर्न नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी रहेको उहाँले बताउनुभयो । थामेमा आएको बाढीले खुम्बु बिजुली कम्पनीलाई क्षती पु¥याएकाले उक्त आयोजना विशेष परिस्थितिले रद्व गरिएको पालिकाले जनाएको छ ।

मञ्जोखोला मिनीहाईड्रोको लागि भनेर यस वर्ष विनियोजन गरिएको ८ करोड बजेट हिँउदे सभाबाट थामेमा गएको बाढीबाट पिडित भएकाहरुलाई पुन स्थापना गर्न, विपतबाट सिर्जित भएका संरचनाको पुनः निमार्ण गर्न र खुम्बु विजुली कम्पनी लगायतको काममा खर्च गरिएको शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार खुम्बु विजुलीमा पुगेको हिसावले दिगोपनाको आधारमा मञ्जोखोला मिनीहाईड्रो निमार्णको कार्य रद्व भएको हो ।
हाल थामडाँडासम्म ग्रामिण विद्युतिकरणको काम भएकाले नाम्चेसम्म राष्ट्रिय प्रसारणको लाइन पु¥याउन थप सम्भाव्यताको अध्यनन गरे पश्चात काम अगाडी बढ्ने कार्यपालिका सदस्य शेर्पाले बताउनुभयो ।

पहिले मुसेसम्म ३३ केभी राष्ट्रिय प्रसारणको लाइन नेपाल विद्युत प्राधिकरणसँग माग गरिएको थियो । तर पुन पछी मुसेमा ३३ केभी र नाम्चेमा ३३ केभीको विद्युत ल्याउने बारेमा नेपाल विद्युत प्राधिकरणसँग प्रयास भइरहको उहाँले बताउनुभयो ।

आमाडब्लाम हाईड्रोको काम तीव्र

सोही प्रकृतिको विद्युत आयोजना आमाडब्लाम मिनी हाईड्रो ९११ किलोवाट निर्माणको लागि भने सम्झौता भएर पनि निमार्णको कार्य भइरहेको छ । पाङबोचेमा निर्माण गरिने उक्त आयोजनाका लागि पाालिकाले चालु आर्थिक बर्ष ८१/८२ मा ८ करोड रूपैंया बजेट बिनियोजन गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।


६२ करोड कुल लागतमा निमार्ण हुने आमाडब्लाम मिनी हाईड्रो लागि खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल सरकार, विश्व बैक, सिद्धार्थ बैक, तथा स्थानीयको लागत साझेदारीमा आयोजना आगामी जनवरी महिना भित्र सक्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । जसमा (एइपीसी) सँगको सम्झौता बाहेक विश्व बैंकले प्रदान गर्ने सहुलियत ऋण प्राप्तीको लागि सिद्दार्थ बैंकसँग सम्झौता भई निर्माण कार्य भइ रहेको छ ।

२०२४ मार्चमा २९ सरकारसँग सम्झौता भए पछि दशै भन्दा अगाडीबाट निमार्ण कार्य सुरु गरिएको थियो । आयोजनाको हालसम्म पाइपको काम सकिएसँगै २० प्रतिशत काम सकिएको आमाडब्लाम मिनी हाईड्रोले ४५१ घर परिवारलाई विद्युत प्रवाह गर्ने वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार