सोलुखुम्बु, चैत्र १ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी सोलुखुम्बु आइपुग्नुभएको छ। औपचारिक अवलोकन भ्रमणका क्रममा अध्यक्ष रेग्मीसहितको टोली आज शुक्रबार सोलुखुम्बुको सल्लेरी आइपुग्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित स्वागत समारोहमा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेसहित सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले उहाँलाई स्वागत गरेका थिए।
अध्यक्ष रेग्मीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग विशेष छलफल गर्दै प्रशासनिक सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन निर्देशन दिनुभयो। उहाँले सेवा प्रवाहलाई जनमुखी बनाउँदै पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता बढाउन आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ।
“नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु प्रशासनिक निकायहरूको प्रमुख दायित्व हो,” अध्यक्ष रेग्मीले भन्नुभयो। साथै उहाँले लोक सेवा आयोगको भूमिकाबारे समेत जानकारी गराउँदै निष्पक्ष, मर्यादित र प्रभावशाली सेवा प्रणाली निर्माणका लागि सरकारी कार्यालयहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
जिल्लाका प्रमुख सरकारी कार्यालय प्रमुखहरूले आफ्नो क्षेत्रका उपलब्धि र चुनौतीबारे अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए।
भ्रमणको क्रममा अध्यक्ष रेग्मीले स्थानीय प्रशासनको प्रभावकारिता, सेवाको सहजता तथा नागरिकको प्रत्यक्ष अनुभवबारे समेत जानकारी लिने कार्यक्रम रहेको छ।
यस भ्रमणलाई जिल्लामा प्रशासनिक सुधार र सेवा प्रवाहमा नयाँ गति दिन सक्ने अवसरका रूपमा हेरिएको छ।