सगरमाथा आरोहणको तयारी तीव्र, ‘आइसफल डाक्टर’को टोली आधारशिविरमा

  सुवास दर्नाल
105 Shares

सोलुखुम्बु,चैत्र २ । वसन्त ऋतुको सुरुवातसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहणको याम सुरु भएसँगै आरोहण व्यवस्थापनको मुख्य कार्य(बाटो बनाउने)लाई जोड दिइएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)ले जनाएको छ ।

एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ‘आइसफल डाक्टर’को टोलीले सगरमाथा आधारशिविर पुगेर क्याम्प सेट गर्ने कार्य सुरु गरेका छन् ।शुक्रबारबाट सुरु भएको ‘क्याम्प सेट’को कार्य करिब १० दिनमा सक्ने जनाइएको छ । त्यस पश्चात डोरी टाँग्ने कार्य सुरु हुने अध्यक्ष शेर्पाको भनाइ छ ।

उक्त टोलीले क्याम्प दुईसम्म डोरी टाँगेर बाटो बनाउने छ । आरोहीहरूलाई सहज र सुरक्षित तवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो आधार शिविर सम्म पु¥याउनका लागि ‘आइसफल डाक्टर’ अर्थात हिमपात चिकित्सकको टोली आधार शिविर पुगेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जानकारी दिएको छ ।

यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’का टोलीहरु आधार शिविर पुगेर व्यवस्थापन गर्न खटिएका छन् । आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा दुई वटा छुट्टा–छुट्टै टोली गठन गरिएको छ । टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, तेन्डु शेर्पा र लाक्पासोना शेर्पा रहेका छन् ।

खुम्बु आइसफल(आधार शिविरबाट क्याम्प २)सम्मको क्षेत्रको बाटो निर्माण तथा मर्मत गर्ने जिम्मा एसपीसीसी टोलीको अगुवाईमा हुने गरेको छ । खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सन् १९९७ देखि एसपिसिसीलाई जिम्मेवारी दिइरहेको छ ।

यस वर्ष आठ जना ‘आइसफल डाक्टर’ र सहयोगीसहित गरी करिब ३० जनाको टोलीले झण्डै ६० दिन आधार शिविरमा विताउने एसपीसीसीका अध्यक्ष शेर्पाले बताउनुभयो ।
परम्परागत चलन
विशेष गरि मानिसहरु घर, पुल, निर्माण गर्न, विवाह, व्रतबन्धनका लागि शुभ साइत हेर्ने प्रचलन छ । तर, सगरमाथा आरोहणको मार्ग निर्माणका लागि पनि नेपालको परम्परागत विधि अनुसार राम्रो साइत जुरेपछि मात्र निर्माणकार्य अगाडि बढाइने गरिएकोे छ ।

आधार शिविरि आरोहण मार्ग निर्माण कार्य सुरु गर्नका लागि बौद्ध परम्पराअनुसार विशेष पूजा गरिने एसपिसिसीले जनाएको छ । जसका लागि स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको अनुग्रह प्राप्त गरेपछि मात्र आइसफलको जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको छ । यस धार्मिक विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास छ ।

आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो बनिसकेपछि मात्र आरोहणको लागि अनुमति दिइनेछ । ‘आइसफल डाक्टर’सहितको सो टोली ६० दिनसम्म आधार शिविरमै रहने जनाइएको छ । जसका लागि रू ८० लाख खर्च लाग्ने एसपीसीसीको अनुमान छ ।

ति सबै खर्च एसपीसीसीले बेहोर्नु पर्छ, जसका लागि हामीले प्रत्येक विदेशी आरोहीबाट ६०० डलरका दरले शुल्क लिने गरेका छौँ तर नेपालीलाई भने निशुल्क छ ।”, अध्यक्ष शेर्पाले रासससँग भन्नुभयो ।


हिमालमा बाटो बनाउन जोखिमपूर्ण
हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्न खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्येको एक हो । जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । आधार शिविर मार्ग निर्माण गर्ने टोलिले जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, डोरी टाँग्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ ।

सगरमाथामा आरोहणका लागि बनाइएको बाटो हिमपहिरोका कारण छिनछिनमा बिग्रिने भएकाले अत्यन्त कठिन हुने ‘आइसफल डाक्टर’का लिडर आङसर्की शेर्पाले बताउनुभयो । “हिमालमा बाटो बनाउने काम कहाँ सजिलो छ र, अहिले बनायो एकैछिनमा हिउँले बिग्रिहाल्छ त्यसैले डोरी टाँग्ने र बाटो बनाउने काम निक्कै जोखिमपुर्ण हुन्छ, कतिपय अवस्थामा हिमपहिरोले हामीलाई पनि पुर्न सक्छ यो धेरै जोखिमपुर्ण काम हो ।” ‘आइसफल डाक्टर’ शेर्पाले भन्नुभयो ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण अङ्ग्रेजी महिनाको करिब मे १२÷१५ बाट सुरु हुने बताइएको छ । लुक्ला नजिकै सडक पुगेको र मौसमले समेत साथ दिएका कारण यस याममा आरोहीको सङ्ख्या उल्लेख्य बढ्न सक्ने सगरमाथा आरोही ङातेम्बा शेर्पाले बताउनुभयो ।

सिजनको सुरुवात देखि नै आरोहणको मौसम अनुकुल हुँदै गएकाले आरोहीहरु समेत निक्कै उत्साहित रहेको उहाँको भनाइ छ । “यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो संख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ ।”, आरोही शेर्पाले भन्नुभयो ।

यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् । सगरमाथा अवस्थित वडा खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भभन्नुभयोे, “हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ ।”

सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराउने कार्य सुरु गरिएको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छ भने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको बताइएको छ । शिशिर ऋतु सकिए लगतै वसन्त ऋतुको प्रारम्भ हुन्छ ।

अहिले वसन्त ऋतु यो समय पर्यटकहरुको लागि महत्वपूर्ण ऋतुको रुपमा हेरिन्छ । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेग अर्थात सगरमाथाको आधार शिविर यतिबेला दुलहीको सृगार गर्ने समय जस्तै बनेको छ । ––– फायल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार