सोलुखुम्बु, चैत्र ४ । “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ङ हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन ।” यो भनाइ, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका ७१ वर्षीया जाङ्बु शेर्पाको । उमेरले पाको भइसक्नुभएका शेर्पालाई यस वर्ष निरन्तर तिब्र गतिमा चलिरहेको हावाले अच्चमित तुल्याएको छ ।
विगतमा सामान्य हावा चल्ने भएपनि यस पटक सोलुखुम्बुमा अस्वभाविक तवरबाट निरन्तर तिब्र गतिको हावा चलिरहेको शेर्पाको भनाइ छ । सगरमाथा अवस्थित जिल्ला सोलुखुम्बुमा अस्वभाविक तवरबाट हावाहुरी चलिरहेको छ । हावाका कारण जिल्लामा ठुलो मात्रामा भौतिक संरचनाको क्षति भएको छ ।
यस वर्षको पुसदेखि नै सुरु भएको तेज गतिको हावाहुरीका कारण सगरमाथाको फेदको गाउँ थामेदेखि सदरमकाम सल्लेरीसहित सोताङ आसपासका क्षेत्रका घर, विद्यालय तथा धार्मिक संरचनाहरुमा ठुलो क्षति पुगेको छ ।
दुई महिनामा हावाहुरीका २६ वटा घटना
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार गत माघ महिनादेखि चैत्र ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको आठ स्थानीय तह मध्ये सगरमाथा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ । जसमा १० वटा निजि घर तथा संरचना, दुई वटा गुम्बा, सिमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको एउटा सरकारी संरचना र एउटा विद्यालय भवन रहेका छन् ।
सोलुदुधकुण्ड नगरपालिकामा एउटा विद्यालय भवन र सात वटा निजी घर गरी आठ वटा संरचना र सोताङ गाउँपालिकामा एउटा विद्यालय भवन र तीन वटा घरमा गरी चार वटा संरचनामा पुर्ण रुपले क्षति पु¥याएको प्रहरीको तथ्याङ्क छ । ति संरचनाहरु हावाहुरीका कारण भत्किदा करोडौँ मुल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
यद्यपि ति सबै घटनामा हालसम्म कुनै पशुचौपाय तथा मानवीय क्षति जिल्लाले बेहोर्नु परेको छैन् । चैत्र, बैशाखको समयमा हावाहुरीले सामान्य क्षति पु¥याएको तथ्याङ्क भएपनि यस वर्षको जस्तो ठुलो मात्रामा भौतिक संरचनामा पु¥याएको क्षतिको तथ्याङ्क विगतका वर्षहरुमा नभएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।
“अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठुलो मात्रामा हावाहुरीले क्षति गराएको देखिएन, चैत्र, बैशाख महिनामा हावाले भौतिक संरचनामा सामान्य क्षति पु¥याएको तथ्याङ्क भएपनि यस वर्षको जस्तो धेरै छैन् । यो वर्ष त माघ महिनादेखि नै जिल्लामा हावाहुरीले भौतिक संरचनाहरुमा ठुलो मात्रामा क्षति पु¥याउन थाल्यो ।” प्रनाउ घिमिरेले भन्नुभयो ।
तिब्र गतिमा निरन्तर चल्न थालेको हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जराबाट नै पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मा लगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा नै अवरुद्ध हुने गरेको छ ।
लाइन विस्तार भएका क्षेत्रका रुखहरु ढल्ने गरेका कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत सेवा नै अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो । तेज गतिको हावाहुरीका कारण रातको समयमा निदाउन समेत कठिन हुने गरेको स्थानीय बताउछन् ।
जिल्लामा धेरै जसो काठको घर हुने भएकाले हावाका कारण घर नै हल्लिने तथा टिनको छाना उडाउने भएकाले कतिपय अवस्थामा रातभर निन्द्रा नपर्ने गरेको लोदिङका शान्त माया विश्वकर्माको भनाइ छ ।
उहाँले भन्नुभयो,“हाम्रो त काठको घर र टिनको छानो भएको घर छ, तर रातभर हावा चलेकाले निदाउनै मुस्किल पर्छ, घर नै उडाएर लैजाने हो कि भन्ने त्रास हुन्छ, यस्तो कहिल्यै पनि भएको थिएन ।” हावाका कारण बाहिर हिडडुल गर्न तथा विद्यार्थीहरुलाई विद्यालय जान समेत जोखिम सृजना भएको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालय गार्माका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो ।
जसलाई मध्ये नजर गर्दै स्थानीय प्रशासनले सुचना नै जारी गरेको छ । तिब्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामुलक सुचना जारी गरिएको प्रमुम जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।
हावाले जमिनको माटो उडाउने भएकाले सल्लेरीसहितका क्षेत्रहरुको आकाश नै धमिलो देखिएको स्थानीय पत्रकार डेनिस थापा मगरले बताउनुभयो । “सोलुखुम्बुको माथिल्लो भेग र सल्लेरी आसपासको क्षेत्रमा मात्रै यो गतिको हावा चलेको बुझ्न आएको छ, छिमेकी जिल्ला ओखलढुंगा र खोटाङमा यस प्रकारको विनाशकारी हावाहुरी छैन भन्ने जानकारी प्राप्त भएको छ ।” पत्रकार मगरले भन्नुभयो ।
हावाको गति सामान्यतया २५ किलोमिटर प्रति घण्टा सम्मको हावालाई सामान्य मानिन्छ, तर सोलुखुम्बुमा हावाको गति ३५ किलोमिटर प्रति घण्टा भन्दा माथि रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जलवायु परिवर्तनको गम्भीर असर
विज्ञहरुका अनुसार यसरी तिब्र गतिमा अस्वभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानिय मौसमी प्रणालीहरूको विकास हुन सक्छ ।
जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा. उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तिब्र गतिको हावाहुरी सिर्जना भइरहेको उहाँले बताउनुभयो ।
डा. उप्रेतीले भन्नुभयो, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाहरूको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको सङ्केत हो । मुख्यत यो जलवायु परिवर्तनकै असर हो ।” त्यसैले गर्दा खुम्बुको थामेमा हिमताल विस्फोट भएको उहाँको भनाइ छ । नेपालमा प्रायः यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ ।
यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लु एफका प्रबन्धक राजन थापाको भनाइ छ । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानहरूमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकहरूले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने जानकार थापाले बताउनुभयो ।
जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्याधिक तातिरहेको छ जसले पनि हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले पनि प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने पनि हिमाली भेगमा हावाको गति अस्वभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा झन बढ्ने वाला छ, जसका लागि पुर्वसुचना प्रणाली जडान गर्नुपर्छ ।”
तापक्रम बढेपछि हावाको गति पनि बढ्छ । जलवायु परिवर्तनको असर नै । हावा जति धेरै प¥यो त्यति नै पानीको बाफ बन्ने हो । पानी समेत ठुलो पर्न सक्छ । हिमाली भेगमा तापक्रम बृद्धि अस्वभाविक भइरहेको छ । विगतमा सामान्य हावाहुरीको अनुभव भएका स्थानीयहरू समेत यस पटकको तिब्र गतिमा चल्ने हावाबाट अचम्मित छन् ।
जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्याधिक तातिरहेको छ । जसले हावाको वेगमा परिवर्तन ल्याएको हुनसक्छ । भविष्यमा यस प्रकारका घटनाहरूको प्रभाव झनै बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, विज्ञ तथा सरकारको ध्यानाकर्षण आवश्यक देखिन्छ ।