नेपाल प्रहरीको ‘देश दर्शन’ कार्यक्रमको एक विशेष टोली सोलुखुम्बुमा

  हिमाल समाचार
469 Shares

सोलुखुम्बु, चैत्र ७ । नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित विशेष कार्यक्रम ‘देश दर्शन’ अन्तर्गत प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको टोली सगरमाथा अवस्थित सोलुखुम्बु जिल्लामा आइपुगेका छन् ।

प्रहरी निरीक्षक सविन कुमार संग्रौलाको नेतृत्वमा ३१ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको टोली आज बिहिबार सोलुखुम्बु सदरमुकाम सल्लेरी पुगेको हो । टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको छ ।

उक्त छलफलमा जिल्लाको सुरक्षा अवस्था, कानुनी व्यवस्था र प्रहरी प्रशासनको भूमिकाबारे जानकारी आदानप्रदान गरिएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौंबाट प्रारम्भ भएको यो १४ दिने कार्यक्रम सगरमाथा आधार शिविरसम्म पुग्नेछ । त्यसपछि टोली जनकपुर हुँदै पुनः काठमाडौं फर्किनेछ ।

भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले राष्ट्रिय सुरक्षा, कानुनी सचेतना, तथा सामाजिक उत्तरदायित्वसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गर्नेछन् । टोलीका सदस्यहरूले यस अवसरलाई अत्यन्तै रोमाञ्चक र ज्ञानवद्र्धक अनुभवको रूपमा लिएको प्रशिक्षार्थी प्रहरी निरीक्षक अस्मिता गोदारको भनाएइ छ ।

नेपाल प्रहरीले सञ्चालन गर्ने यो विशेष अभियान प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई देशका महत्वपूर्ण स्थानहरूको भ्रमण गराएर उनीहरूलाई राष्ट्र सेवकका रूपमा थप जिम्मेवार बनाउने उद्देश्य राख्दछ । टोलीका कमाण्डर प्रहरी निरीक्षक सविन कुमार संग्रौलाका अनुसार कार्यक्रमले प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई सामाजिक उत्तरदायित्वको महत्त्व सिकाउने, राष्ट्रप्रति समर्पित रहन प्रेरित गर्ने, तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधता बुझ्न सहयोग पुग्ने छ ।

यो अभियानले प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई सामाजिक उत्तरदायित्वबारे सचेत तुल्याउने मात्र नभई विविधतायुक्त भौगोलिक अवस्थाबारे व्यावहारिक ज्ञान दिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको विश्वास छ ।

नेपाल प्रहरीको यो कार्यक्रमबाट प्रशिक्षार्थीहरूले देशका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्नुका साथै प्रहरी प्रशासनको कार्यशैली, सुरक्षाका चुनौतीहरू र समुदाय–प्रहरी साझेदारीबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ‘देश दर्शन’ कार्यक्रम अहिलेलाई प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूका लागि मात्र लक्षित गरिएको एक विशेष अभियान हो ।

यस अभियानले उनीहरूलाई नेपालको विविधता बुझ्न, सुरक्षा व्यवस्थापनको व्यावहारिक ज्ञान लिन तथा राष्ट्रप्रति थप जिम्मेवार प्रहरी अधिकृतका रूपमा तयार हुन प्रेरित गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार