सोलुखुम्बु, चैत ८ । भूमि समस्या समाधान आयोग सोलुखुम्बुको सदस्यमा प्रेम बहादुर थापा मगरलाई मनोनयन गरिएको छ । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व उपाध्यक्ष समेत रहनु भएका मगरलाई भूमि समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको जिल्ला अध्यक्ष नाती काजी गुरुङले बताउनुभयो ।
मगरलाई नियुक्त गरिएसँगै उक्त आयोगले पूणर्ता पाएको हो । मनोनित सदस्य मगरलाई आज नै शपत ग्रहण गराइ सकिएको छ । मगर खुम्बुपासाङ ल्हामु गाउँपालिका १ निवासी हुनुहुन्छ ।
शपत ग्रहण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, नापी कार्यालय लगायतका कार्यालयका कर्मचारीको उपस्थित रहेको थियो । नेपालभरका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि उक्त आयोगको गठन गरिएको हो ।
सदस्यमा मनोनयन हुनु भएका मगरलाई नोपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा नेपाली कांग्रेस क्षेत्र (ख) का सभापति कर्मा शेर्पा लगायतले बधाई दिनु भएको छ ।