सोलुखुम्बु, चैत ८ । खोटाङको रावा बेसी गाउँपालिका वडा नं. ५ दुवेकोललाई पहिलो पूर्ण खोप वडा घोषणा गरिएको छ । आज “स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ वडालाई पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य चौकी दुवेकोलका प्रमुख तेजेन्द्र प्रकाश रेग्मीले बताउनुभयो ।
आज शुक्रबार स्वास्थ्य चौकी दुबेकोलमा नेपाल सरकारको नीति अनुसार सबै बालबालिकाहरुलाई स्वस्थ बनाउन राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क उपलब्ध हुने सबै खोपहरु १५ महिनाभित्रमा उपलब्ध गराइ राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकाबाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरि सुनिश्चित गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
जन्मे देखी देखि १५ महिना सम्मका १६ जनाले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिनासम्मका ९४ जना गरेर कुल ११० जना बालबालिकाले पूर्ण खोप लगाएको घरधुरी सर्वेक्षण गर्दा देखिएपछि स्वास्थ्य चौकी दुवेकोलले गाउँपालिकामा बुझाएको थियो ।
उक्त रिपोर्ट पश्चात गाउँपालिकाको स्वास्थ्य टोली उक्त वडामा अनुगमन गर्दा सबैले पूर्ण खोप पाइएकोले दुवेकोललाई गाउँपालिकाकै पहिलो पूर्ण खोप वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले बताउनुभयो ।
पूर्ण खोप कार्यक्रम पुर्ण खोप समन्वय समिति का अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष मनकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा सदस्यहरु, रावा बेसी स्वास्थ्य शाखा प्रमुख, डुम्रेधारापानी स्वास्थ्य चौकी प्रमुख, वडा भित्रका आमा समुहका अध्यक्षहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतको उपस्थिति थियो ।