सोलुखुम्बु, चैत ९ । खोटाङमा फरक घटना २ जनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १ जना र केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेलमा घरको बार्दलीबाट लडेर एक बालिकाको र केपिलासगढी गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो ।
दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको जनाएको छ । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
तर अस्पतालले उनलाई काठमाण्डौं रेफर गरेकाले सुमो गाडी मार्फत काठमाडौं लैजादै गर्दा बालिकाको जयराम पुगेपछि राती करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस्तै शनिबार बिहान करिब ४ः३० बजेको समयमा हर्कराज राईको श्रीमती दिलकुमारीको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेकोे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।