सोलुखुम्बु, चैत्र १४ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ स्थित लोदिङ सृजनशील युवा क्लवलाई ५ लाख मुल्य बराबरको जग्गा निशुल्क प्राप्त भएको छ । लामो समयदेखि सामाजिक सेवामा सक्रिय नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ङवाङ सोनाम शेर्पाले उक्त जग्गा क्लवलाई निशुल्क दान गर्नुभएको हो ।
भाषा, धर्म, कला, संस्कृति तथा सामाजिक कार्यमा सक्रिय लोदिङ सृजनशील युवा क्लबलाई सामग्री भण्डारण, खेलकुद गतिविधि, बैठक तथा विभिन्न सामुदायिक कार्यका लागि भवन आवश्यक रहेको थियो । तर अब शेर्पाले क्लबलाई जग्गा प्रदान गरेपछि यी सबै आवश्यकताहरू सहज रूपमा पूरा हुने क्लबका अध्यक्ष तथा नेपाल शेर्पा विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष गेलु शेर्पाले बताउनुभयो ।
समाजसेवी शेर्पाले सामुदायिक हित तथा सांस्कृतिक संरक्षणका लागि काम गर्ने संस्थाहरूलाई हर प्रकारको सहयोग गर्न आफू सधैं तत्पर रहने बताउँदै शेर्पा समुदायको भाषा, धर्म, संस्कृति, परम्परा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले समाजसेवी शेर्पाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगहरूले सामाजिक कार्य गर्न थप ऊर्जा मिल्ने बताउनुभयो । उहाँले सामुदायिक विकासका लागि स्थानीयस्तरमा यस्ता योगदानहरू प्रेरणादायी हुने उल्लेख गर्नुभयो ।
यस दानले सामुदायिक गतिविधिहरू सञ्चालन गर्न थप सहजता ल्याउनुका साथै भाषा, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ ।