सोलुखुम्बु, १४ चैत । सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान सञ्चालन हुने भएको छ । काठमाडौंमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘प्रोजेक्ट केयर’ अभियानका बारेमा जानकारी गराइएको थियो ।
यस अभियान सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)सँग आबद्ध भएर नेपाल लाइफ र राउन्ड टेबल नेपालसँगको सहकार्यमा सञ्चालन हुने नेपाल लाइफका सीईओ प्रविणरमण पराजुलीले बताउनुभयो । कार्यक्रममा सीईओ पराजुलीले एसपीसीसीसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
सरगमाथा राष्ट्रिय गौरवमात्र नभएर अन्तर्राष्ट्रिय गौरव पनि भएकाले सगरमाथा क्षेत्रमा हजारौँ मानिसको चहलपहल हुने बताइएको छ । मानिसको चहलपहलसँगै सगरमाथा क्षेत्रमा विभिन्न प्रकारका फोहोरजन्य सामग्रीको थुप्रो पनि बढ्दै गएकोले यस प्राकृतिक विपत्तिका घटना निम्त्याउन सक्ने सम्भावना उत्तिकै रहेको सीईओ पराजुलीले बताउनुभयो ।
सोही कारणले एसपीसीको सहकार्यमा नेपाल लाइफले सगरमाथा क्षेत्रमा सरसफाइ अभियान चलाउन लागेको पराजुलीले बताउनुभयो । त्यस क्षेत्रका फोहोर व्यवस्थापनका साथै रिसाइकल गर्न सकिने फोहोरलाई रिसाइकल गरिने पनि बताइएको छ ।
विश्वको सर्वोच्च शिखरलाई थप आकर्षित बनाउन यो अभियानले सहयोग गर्ने विश्वास लिइएको सीईओ पराजुलीको भनाइ रहेको छ । सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर सतह तात्तिएर हिउँ पग्लिन र त्यसले हिमपहिरो निम्त्याउन सक्ने भएकाले त्यस किसिमका विपत्ति रोक्नु पनि यो अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
विभिन्न आपत्तीले सगरमाथा क्षेत्रका मानिससँगै अन्य बीमा कम्पनीलाई पनि असर गर्न सक्ने पराजुलीले बताउनुभयो । सगरमाथा क्षेत्रबाट संकलित फोहोरलाई काठमाडौंमा ल्याएर सम्भव भएकोलाई रिसाइकल गरिने र अन्यलाई निष्ट गरिने छ ।
यस महाअभियानमा सबैको सहयोग प्राप्त हुनेमा हामी विश्वस्त रहेको उहाँको भनाइ छ । सीईओ पराजुलीका अनुसार अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यान सगरमाथाको सन्दरताले तानेको छ ।
त्यसैले नेपाल लाइफले सगरमाथाको सुन्दरतालाई कायम गर्न यो अभियान चलाउन लागेको उहाँको दाबी छ । यस अभियानअन्तर्गत सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नेपाल लाइफले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाइएको छ ।