खोटाङका २० वडा डढेलोको उच्च, २२ वटा मध्यम र ३७ वटा वडा न्यून जोखिममा

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु,चैत १६ । मध्य पहाडी जिल्ला खोटाङका २० वडा डढेलोको उच्च, २२ वटा मध्यम र ३७ वटा वडालाई न्यून जोखिममा राखिएको छ । ८ गाउँपालिका र २ नगरपालिका गरेर १० स्थानीय तह रहेको जिल्लाका २० वडा डढेलोको उच्च, २२ वटा मध्यम र ३७ वटा वडालाई न्यून जोखिममा राखिएको हो ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र जिल्ला विपद् व्यवस्थापन समितिले उक्त वडाहरुलाई तीन भागमा वर्गीकरण गरेर राखेको हो । जिल्लाको दिक्तेल, जालपा, बुइपा, बाहुनीडाँडा, दुर्छिम, महादेवस्थान, अर्खौले, राजापानी, लामिडाँडा, ऐसेलुखर्क र बाक्सिला डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो ।

यस्तै लिकुवापोखरी, वाप्लुखा, सावाकटहरे, बडका दियालो, चिप्रिङ, इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी, लिच्किराम्चे डढेलोको उच्च जोखिममा छन् ।

सोल्मा, बाम्राङ, खाल्ले, लफ्याङ, पाथेका, खार्मी, नुनथला, विजयखर्क, डिकुवा, च्यास्मिटार, बडहरे, मङ्गलटार, धितुङ, सल्ले, खार्पा, ज्यामिरे, छितापोखरी, देविस्थान, काहुले, चिसापानी, दिप्लुङ र फाक्टाङ डढेलोको मध्यम जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २ नगरपालिका र ८ गाउँपालिकाले आगलागीजन्य विपद्लाई न्यूनीकरण तथा रोकथाम गर्ने ढाँचाको सूचना, जिङ्गल तयार गरी स्थानीय सञ्चारमाध्यमको समन्वयमा प्रकाशनरप्रसारण गर्ने गराउनुपर्ने निर्णय गरेको छ ।

डढेलोको उच्च जोखिममा रहेका २० ओटा वडालाई लक्षित गरेर डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धि स्थानीय सञ्चारमध्यमबाट प्रचारप्रसार, हाते ब्रुसरहरु वितरण, वन समूहहरूमा अन्तरक्रिया लगायतका कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख राईले बताउनुभयो ।

जिल्लास्थित सबै स्थानीय तह र रेडक्रसले आफ्नो मातहत रहेका विपद् नियन्त्रण र प्रतिकार्य गर्नका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरी सामग्री मौज्दातको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउन भनिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो ।

गत वर्ष जिल्लाको विभिन्न स्थानमा गरी ६५ वटा वनमा डढेलो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

–  फायल फोटो   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार