पदयात्रीको उपचारका लागि सोलुखुम्बुको २ र मनाङको १ स्थानमा चिकित्सकको टोली खटाइयो

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु, चैत १७ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बुको २ र मनाङको १ स्थानमा चिकित्सकको टोली खटाएको छ । संघले नेपालको सोलुखुम्बु र मनाङ जिल्लाका तीन स्थानमा विदेशी चिकित्सकसहित १४ जनाको टोलीलाई खटाएको हो ।

वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र चार नेपाली चिकित्सकसहित १४ जनाको टोलीलाई हिमालमा खटाएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको स्वास्थ्य जाँच तथा उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाइएको उहाँले बताउनुभयो ।

सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा २\२ जना विदेशी र १/१ जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्ने संघका अध्यक्ष पराजुलीले बताउनुभयो । टोलीमा सङ्घका कर्मचारीसमेत खटिएको हुँदा दुवै ठाउँमा खटिएको टोलीले काम सुरु गरिसकेको बताइएको छ ।

सगरमाथा आधार शिविरमा बेलायतका डा. रोय गोर्डन ह्यारिस, नेपालका डा आशिष लोहनी र डा. सुरज श्रेष्ठ, मनाङ स्वास्थ्य चौकीमा बेलायतका डा लौरा एलिजाबेथ क्लाफम, डा. साराएलेन वेस्ली अराथुन र नेपाली डा सावित्रा थापा खटिएको छ भने फेरिचे स्वास्थ्य चौकीमा संयुक्त राज्य अमेरिकाका डा. जोनजे एभरेट, अष्ट्रेलियाका डा. केनत्जे कोह र नेपालका डा सूर्यप्रसाद जोशी खटिएका छन् ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर पठाइएको बताउनुभयो ।

उक्त टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको उहाँले बताउनुभयो ।

पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष निलहरि बास्तोलाले हिमाल आरोहणका लागि उच्च हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताउनुभयो ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार