सोलुखुम्बु, चैत १८ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले पत्रकार हत्यामा संलग्नलाई कारबाही, सञ्चारगृह र पत्रकारको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र पठाएको छ ।
गत शुक्रबार काठमाण्डौँको तिनकुनेमा कथित राजावादी समुहको आन्दोलनमा जिउदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको घटनामा अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाहीको माग गर्दै केन्द्रिय सर्कुलर अनुसार पत्रकार महासंघ सोलुखुम्बुले पनि आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र पठाएको हो ।
राजावादीको आन्दोलनमा रिर्पोटिङको लागि गएका एभिन्युज टेलिभिजनका पत्रकार रजकको नियोजित ढंगले जिउदै जलाएर हत्या गरिएको भन्दै आज सामेबार प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले जानकारी दिनुभयो ।
अध्यक्ष दर्नालको नेतृत्वमा गएको महासंघसहित पत्रकारहरुको टोलीले सरकारलाई ज्ञापन पत्र बुझाउदै राज्य पत्रकार तथा सञ्चारगृहहरुको सुरक्षामा चुकेको दाबी गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दर्नालले राज्यको फितलो सुरक्षा र आन्दोलनकारीको निशानाका कारण पत्रकार निर्दोष पत्रकार रजकले जिउदै जलेर देह त्याग्नुपरेको बताउनुभयो ।
साथै पत्रकारहरुलाई सुरक्षित र भयरहित वातावरणमा काम गर्ने वातावरण सृजना गर्न सरकारसँग माग गर्नुभयो । रिपोटिङ गरेकै आधारमा पत्रकार र सञ्चार गृहहरु माथि समेत आक्रमण हुनु लोकतन्त्र माथिकै प्रहार भएकाले यस घटनाको अनुन्धान तथा कारबाहीमा राज्य निर्मम हुनुको विकल्प नभएको उहाँको भनाइ छ ।
यस घटनाको गहन अध्ययन गरी दोषी उपर कडा कारबाहीमा ढिलाइ भए सोलुखुम्बुसहित देशभरका पत्रकारहरु अन्य आन्दोलनका कार्यक्रमहरु अघि सार्न बाध्य हुने अध्यक्ष दर्नालले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सरकारले यस घटनालाई छानविन सुरु गरि सकेको बताउदै सो घटनाले आफू अत्यन्तै दुखी भएको बताउनुभयो ।
पत्रकार राज्यको चौथो अंग भएकाले उनीहरुलाई भय रहित वातावरणमा काम गर्न पाउने वातावरण मिलाउन राज्य गम्भीर सधै तत्पर रहेको प्रजिअ घिमिरेले बताउनुभयो । जिल्लाका पत्रकारहरुको सुरक्षा र काठमाण्डौँमा भएका उक्त घटनाको दोषी उपर कारबाही गर्ने सवालले सरकारले काम सुरु गरिसकेको भन्दै विश्वस्त हुन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
साथै आफुले बुझेकोे ज्ञापन पत्र तत्काल सम्बन्धित निकायसम्म पु¥याउने व्यवस्था हुने प्रजिअ घिमिरेले बताउनुभएको छ । सो ज्ञापन पत्रमा पत्रकार सुरक्षाको लागि राज्यले थप प्रभावकारी नीतिहरु लागु गर्नु पर्ने र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध हुनु पर्ने र यस्ता किसिमका घटनाहरु दोहोरिन नदिन आवश्यक कदम चाल्नु पर्ने लगायतका माग जोडदार रुपमा राखिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका कोशी प्रदेश सदस्य अमृता विश्वकर्मा, जिल्ला अध्यक्ष सुवास दर्नाल, संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ, जिल्ला उपाध्यक्ष गार्डेन राई र कोषाध्यक्ष अमृत थुलुङसहित जिल्लामा कृयाशिल पत्रकारहरु उपस्थित थिए ।