अनेरास्ववियु सोलुखुम्बुको १२ औं अधिवेशन चैत २३ र २४ मा हुने, २५० बढीको सहभागी रहने

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु, चैत १९ । अनेरास्ववियु सोलुखुम्बुको १२ औं अधिवेशन यहि चैत २३ र २४ मा हुने भएको छ । १२ औं अधिवेशन जिल्लाको माप्यदुधकोशी गाउँपालिका – ३ खास्तावमा गरिने भएको हो । आज मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त अधिवेशनको तयारी पुरा भइसकेको जानकारी दिएको छ ।

१२ औं जिल्ला अधिवेशनमा २ सय ५० जना भन्दा बढीको सहभागी रहने अनेरास्ववियु सोलुखुम्बु संयोजक नरेन्द्र कुलुङले बताउनुभयो । ८ वटै स्थानीय तहका पालिका कमिटी, सम्बन्धित स्थानीय तहमा रहेका मावि र क्याम्पस प्रारम्भिक कमिटीका प्रतिनिधिले १२ औं अधिवेशनमा सहभागी जनाउने उहाँँले बताउनुभयो ।

एउटा माविबाट २ जना, पालिका र क्याम्पसबाट ३/३ जना प्रतिनिधिले सहभागी जनाउने छन् । पत्रकार सम्मेलनमा जानकारी गराइएको विवरण अनुसार पालिका, मावि र क्याम्पसको प्रारम्भिक कमिटी अनुसार सोताङबाट १४, थुलुङदुधकोशीबाट २४, महाकुलुङबाट ९,नेचासल्यानबाट २४, लिखुपिकेबाट ११, खुम्बु पासाङल्हामुबाट ७, माप्यदुधकोशी गाउँपालिकाबाट १७ जना र सोलुदुधकुण्ड नगरपालिकाबाट ३१ गरेर कुल १३४ जना प्रतिनिधिले अधिवेशनमा सहभागी जनाउने छन् ।

यस्तै आयोजक कमिटीबाट ११ जना सदस्यीय रहेको बताइएको छ । गुणस्तर एवं रचनात्मक शिक्षा एउटै लक्ष्यमा, अनेरास्ववियु सोलुखुम्बु विद्यार्थीको पक्षमा भन्ने मुल नाराका साथमा अधिवेशन गरिने बताइएको छ ।

१२ औं जिल्लामा अधिवेशनबाट आउने नेतृत्वले सोलुखुम्बु जिल्लामै इतिहास रच्न सक्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीका संयोजक कुलुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार