सोलुखुम्बु, चैत २० । सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलबाट ७ सय २० टन कार्गाे सगरमाथा क्षेत्रमा ढुवानी गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन मसान्तसम्मको अवधिमा उक्त कार्गो सगरमाथा क्षेत्रमा ढुवानी गरिएको होे ।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका निमित्त कार्यालय प्रमुख आयुस थापाका अनुसार साउनेदेखी फागुन मसान्तसम्ममा उक्त कार्गो खुम्बु क्षेत्र ढुवानी गरिएको हो । सदरमुकाम सल्लेरीसम्म गाडीमा ल्याएको निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, काठलगायतका सामग्रीहरु फाप्लुबाट हेलिकप्टरले कार्गो ढुवानी मार्फत खुम्बु क्षेत्रमा लाने गरेको उहाँले बताउनुभयो ।
मासिक सरदर ९० हजार केजीका दरले खुम्बु क्षेत्रमा कार्गो ढुवानी भएको फाप्लु विमानस्थलले जनाएको छ । फाप्लुसँगै रामेछापको मन्थली र काठमाण्डौंबाट जहाज तथा हेलिकप्टरले कार्गो ढुवानी गर्ने गरेको छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको माथिल्लो भेगमा यातायातको साधन पुग्न बाँकी रहकाले कार्गो ढुवानी हुँदै आएको छ ।
केहि महिनादेखी खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केसम्म गाडी पुग्न थालेपश्चात त्यस क्षेत्रमा सामानको भाउ समेत घटेको स्थानीयहरुले बताएका छन् ।