सोलुखुम्बु, चैत २४ । ओखलढुंगाको खिजिदेम्बा गाउँ पालिकामा ग्रामिण पर्यटन प्रवर्द्धनका लागि थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको ३ हजार ३ सय ५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो ।
पर्यटन प्रर्वद्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन गरिने संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
नेपाल सरकारले १०० गन्तव्य सूचिमा सूचिकृत गरेको एक गन्तव्य मध्ये थोले देम्बाडाँडा पनि एक हो । उक्त प्रतियोगिता ले समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटानलगायतका ६ देशका र नेपालका पनि विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् ।
आफू निर्वाचित भएदेखि नै पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा खिजीदेम्बाको पर्यटनबाट पनि पालिकासँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने निचोडमा पुगेकाले पर्यटनको पुरै प्याकेजलाई बल पुग्ने गरि पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
पहिलो वर्ष नै ६ देशका विदेशी र नेपालका ख्यातिप्राप्त खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भईसकेको छ । पर्यटन विकासमा जिल्लामै प्रचुर सम्भावना भएको खिजीदेम्बाले सम्भावना चुम्दै विश्वभरका पर्यटक तान्ने लक्ष्य राखेको छ ।
हरेक नयाँ वर्षमा देम्बामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन भएर उक्त काम भएको ब्यवस्थापक तथा खिजिदेम्बा गल्फ कोर्ष उपभोक्त समिति अध्यक्ष पासाङ शेर्पाले जनकारी दिनुभयो ।
पालिकाले केही समय अघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्धारा सम्भाव्यता अध्ययन गरेको थियो । खिजीदेम्बा गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि १ महिना अघि ३ दिने जातिय पहिचानसहितको सास्कृतिक महोत्सव सञ्चालन गरिएको थियो ।
विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङको समेत पूर्वाधार विकास गरिएको छ । सहासिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिताहरु आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पालिकाको योजना छ ।
नयाँ वर्षको अवसरमा हुने २ दिन हुने महोत्सवमा करिब ५ हजारभन्दा बढी मानिसले देम्बाडाँडा अवलोकन गर्ने आयोगकको अनुमान गरिएको छ ।
गल्फ प्रतियोगितासहित राष्ट्रिय चर्चित कलाकार रोज मोक्तान, मिंङमा शेर्पा, राज राई, इन्द्र गुरुङलगायतका कलाकारले प्रस्तुति दिनेछन् । साँझको समयमा डिजे सेसन हुनेछ ।
स्थानीय उत्पादनको प्रर्वद्धन गर्दै अर्गानिक पालिका घोषणा गरिएको खिजीदेम्बाका स्थानीयले महोत्सवका दर्शक र अतिथिलाई स्थानीय खानेकुराका परिकार चखाउने छन् ।
एकैठाउँबाट चारैतिर दर्जनौं हिमश्रंखलाको मनोरम दृश्यावलोकन गर्दै नेपालमा पाइन्ने ३२ प्रकारको लालिगुरस मध्ये आधा भन्दा बढी प्रजातिका गुराँस र फुलको सुगन्धमा रम्न पाइने देम्बाडाँडा नयाँ वर्षको अवसरमा वर्षेनी घुम्ने र रम्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
नेपालको नक्साङ्कन गर्दा तत्कालिन समयमा देम्बाडाँडासहित नेपालका ७ अग्ला डाँडालाई केन्द्र बनाइएको थियो । नजिकैसम्म सडक, डाँडासम्म पैदलमार्ग, गुम्बा, मानेसहितका धार्मिक संरचना निर्माण र खानेपानी, विद्युतलगायतको सुविधासमेत पुगेपछि थोलेदेम्बाले पर्यटन विकासमा फड्को मारेको छ ।
खिजीदेम्बाका ९ वटै वडामा दुई दर्जनौं भन्दा बढी मन्दिर, गुम्बा, गुफा, माने, चर्चसहितका धार्मीक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र छन् । खिजीचण्डेश्वरी विमानस्थल सञ्चालनमा खिजीदेम्बा र थोलेदेम्बा क्षेत्रको पर्यटन विकासमा थप मद्दत पुग्ने स्थानीयको अपेक्षा छ ।