सोलुखुम्बु, चैत २४ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको वसन्त याममा ७७ जनाले अनुमति लिएका छन् । आरोहणको सिजन सुरु भएसँगै हालसम्म ७ समुहका १७ महिला र ६० पुरुष जनाले गरेर ७७ जनाले अनुमति लिएका हुन् । उनीहरु ७ वटा समुहका भएका पर्यटन विभागले जनाएको छ ।
हालसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो । अनुमति पाएका आरोही गन्तव्यतिर लागेको उहाँले बताउनुभयो ।
विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समुहका ६६ जना र अन्नपूर्ण–५ का लागि १ आरोही समुहका ८ जनाले अनुमति लिएका छन् ।
मकालु आरोहणका लागि एक आरोही समुहका १५, ल्होत्सेमा १ आरोही समुहका १५ जनाले अनुमति पाएका निर्देशक अवस्थीले बताउनुभयो । यस्तै सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र वेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ ।
शनिबार साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ । खुम्बु आइसफल क्षेत्रमा अहिले भर्याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ ।
आइसफल क्षेत्रमा ४ वटा भर्याङ र १२ वटा किला ठोकि सकिएको निर्देशक अवस्थीले बताउनुभयो । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ ।
यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउने जनाइएको छ ।