सोलुखुम्बु, चैत २५ । सोलुखुम्बुको टाक्सिन्दु स्वास्थ्य चौकीमा भएको शिविरमा ५१ जनाले सेवा लिएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा रहेको टाक्सिन्दु स्वास्थ्य शिविरबाट ५१ जनाले सेवा लिएका हुन् ।
आइतबार नगरपालिकाका मेडिकल अधिकृत डा ग्याल्छेन गुरुङ सहितको टोलीले चिकित्सक स्तरीय घुम्ती शिविर सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
उक्त शिविरमा ३९ जना महिला र १२ जना पुरुष गरेर कुल ५१ जनालाई सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुवास तामाङले बताउनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रिङ प्रेसरी सेवा र आई.यु.सि.डी रईन्प्लान्ट स्याटेलाईट सेवा समेत प्रदान गरिएको छ ।
उक्त शिविर हरेक महिनामा एक पटक सञ्चालन गरिने नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । उक्त शिविर सञ्चालनबाट स्थानीयबासी तथा विरामीहरुले खुसि व्यक्त गरेका छन् ।