सोलुखुम्ब, चैत २५ । सोलुखुम्बु सहित पुर्वबाट राजधानी जाने बीपी राजमार्ग पुन निर्माणका लागि ठेक्का आह्वान भएको छ । असोज दोस्रो हप्ता रोसीखोलामा आएको बाढीले क्षति पु¥याए पश्चात् पर्यटकीय जिल्ला सोलुखुम्बु सहित पुर्वबाट संघीय राजधानी काठमाण्डौं आवत आवत गर्ने बीपी राजमार्गको सडक पुनः निर्माणको लागि तीन खण्डको ठेक्का आह्वान भएको हो ।
कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेकोमा तीन खण्डको लागि ठेक्का आव्हान भएको हो । डिभिजन सडक भक्तपुरले काभ्रेतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको साढे ५ किलोमिटर सडक पुनः र्निर्माणका लागि जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ । क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चितता भएको छ । त्यसबाट काभ्रे जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट विनियोजन भएको छ ।
सडक पुनः र्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डमा जेठ पहिलो हप्तासम्म सम्झौता गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
ठेकेदारले काम शुरु गर्दा वर्षा लागिसक्ने भएकोले आउँदो मनसुनको समयमा गाडी चलाउन डिभिजन सडक कार्यालय भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ ।
अहिले दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको उहाँले बताउनुभयो । खोलाको बहाव परिवर्तनका साथै सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ ।