दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको नाम पुन परिवर्तन गर्न प्रस्ताव

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु, चैत २६ । खोटाङकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो । नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो नगरपालिकाको नाम यसअघि दुईपटक परिवर्तन गरिएको थियो । सुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो पालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामकरण गर्ने क्रममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवं बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

देश तथा विदेशबाट हाम्रो नगरपालिकाको नाम लामो भयो भन्ने गुनासो आएकाले सोही विषयमा कार्यपालिका बैठकमा छलफल भएको उहाँको भनाइ छ ।

बैठकमा राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नगरपालिकाको नाम परिवर्तन गर्नेगरी समझदारी भइसकेकाले यस विषयलाईलाई चाँडै सर्वपक्षीय बैठक राखेर टुङ्ग्याने नगर प्रमुख भट्टराईले बताउनुभयो ।

विसं. २०७४ मा पहिलोपटक भएको स्थानीय तहको निर्वाचनपछि तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल नेतृत्वको जनप्रतिनिधिले रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार