सोलुखुम्बु, चैत २८ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणका लागि १ सय ३४ जनाले अनुमति लिएका छन् । बुधबारसम्ममा सगरमाथा आरोहणका लागि १४ आरोही समूहका २७ महिला र १ सय ७ पुरुषसहित जम्मा १ सय ३४ जनाले अनुमति लिएका विभागका निर्देशक आरती न्यौपानेले बताउनुभयो ।
सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३ सय ८१ जनाले अनुमति लिएका उहाँको भनाइ रहेको छ । सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २ सय ९७ पुरुषसहित कूल ३ सय ८१ जनाले अनुमति पाएका पर्यटन विभागले जनाएको छ ।
नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएकामा देशका २७ महिला र १०७ पुरुषसहित कूल १ सय ३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका न्यौपानेले बताउनुभयो ।
अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६, आमादब्लाममा ४ समूहका ४८ र मकालुमा ३ समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन्। हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको छ ।