सोलुखुम्बु, चैत २८ । मेरापिक हिमाल चढ्न सोलुखुम्बु आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । आज बिहिबार माप्यदुधकोशी गाउँपालिका ७ मा अवस्थित सिबुजेको भिरबाट लडेर बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको हो ।
मेरापिक आरोहण गर्न जाने क्रममा उनको लडेर ज्यान गएको हो । उनीसँगै टोलीमा रहेका अन्य भने सकुशल रहेका बताइएको छ । डेक्लियरले यही अप्रिल १८ तारिखमा मेरा पिक आरोहण गर्ने तयारीमा रहेका थिए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने पुष्टि गर्न बाँकी रहेको छ । यद्यपी पानी परेर चिप्लो भएका कारणले गर्दा डेक्लियर लडेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा प्रहरी पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।