सगरमाथा क्षेत्र भ्रमणमा पुगे ४३ हजार बढी पर्यटक, ११ करोड ३२ लाख राजस्व संकलन

  नवराज सिग्देल
98 Shares

सोलुखुम्बु, चैत ३१ । ९ महिनामा ४३ हजार बढी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी चैत मसान्तसम्ममा ४३ हजार ६ सय ९३ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका हुन् ।

उनीहरुबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ११ करोड ३२ लाख ९ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ । उक्त पर्यटकहरुमध्ये नेपाली ५ हजार ८ सय ९७ जना र विदेशी ३७ हजार ७ सय ९६ जना रहेका सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार विदेशी पर्यटकमा ३ हजार ९ सय ९६ जना सार्क राष्ट्रका र ३३ हजार ८ सय पर्यटक अन्य देशका रहेका छन् । भ्रमणको लागि निकुञ्ज पुगेका नेपाली पर्यटकबाट ५ लाख ८९ हजार ७ सय, सार्क राष्ट्रकाबाट ५९ लाख ९४ हजार र अन्य देशका पर्यटकबाट १० करोड १ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

चैतको अन्तिम हप्ता तिर दैनिक ३ सय ५० देखी ४ सय जना पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आइरहेका नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

मौसमले साथ दिएकाले काठमाण्डौं र रामेछापको मन्थली विमानस्थलबाट पर्यटक लुक्ला हुँदै सगरमाथा क्षेत्र भ्रमणमा आएका उहाँले बताउनुभयो । सबैभन्दा धेरै कार्तिक महिनामा मात्रै १३ हजार १ सय ६३ जना पर्यटक सगरमाथा क्षेत्र भ्रमणमा पुगेका छन् ।

यस्तै सबैभन्दा कम साउनमा १ सय २५ जनाले भ्रमण गरका छन् । भदौमा १ हजार ३ सय ९४, असोजमा ८ हजार २, मंसिरमा ४ हजार ३ सय ९४, पुसमा १ हजार ७ सय ११, माघमा ९ सय ४३, फागुनमा २ हजार ४ सय ८७ र चैत महिनामा ११ हजार ८८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

वि.सं.२०३२ साल मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु लगायत हिमचुचुरा पर्दछन्।

कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ ।

उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् ।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ ।

मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार