सोलुखुम्बु, बैशाख ४ । सोलुखुम्बु जिल्लासहित पुर्व नेपालबाट काठमाण्डौं आवत जावत गर्ने बीपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड ४ खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत गत असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई ४ खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो ।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै, एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ ।
क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट ४ सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीबाट चार सय बेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
उहाँका अनुसार बीपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चितता प्राप्त भएको छ । उक्त बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि एक रु अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ ।
बर्खेखोलाबाट डालाबेँसीसम्मको पाँच दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग छलफल भइरहेको र जाइकाले स्थलगत अध्ययन गरिरहेकाले उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार करिब तयारजस्तै देखिएको योगशले बताउनुभयो ।
उक्त सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने योगेशको भनाइ छ । उहाँले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
यस्तै, क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुईवटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ ।
कार्यालयले पहिलो चरणमा भकुन्डेबाट नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । हाल बीपी राजमार्गको उक्त सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ ।
योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उहाँको भनाइ छ ।
वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको अस्थायी काम सक्ने उहाले बताउनुभयो । यसैबीच बीपी राजमार्गको डालाबेसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ ।
सरकारले चारवटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो । सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्नेरनगर्नेबारे टुङ्गो भने लागेको छैन ।
यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो । जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीनखण्डको ठेक्का आह्वान गरिसकेको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३ र ५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।