सोलुखुम्बु, बैशाख ४ । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा आगामी पुसमा मुन्दुम ट्रेल भ्रमण वर्षको अवसर पारेर चाकचाकुर महोत्सव आयोजना गरिने भएको छ । २०८२ सालको पुस १३, १४, र १५ तीन दिनसम्म चाकचाकुर महोत्सव आयोजना गरिने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्र सिहं कुलुङले बताउनुभयो ।
नेपाल सरकारले सय पर्यटकीय गन्तव्यको सूचिमा किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ घोषणा गरेको हो । गाउँपालिकालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको कुलुङले बताउनुभयो ।
पुस १५ गते कुलुङ समुदायको पुख्यौली पराम्परा अनुसार ऋतु परिवर्तन भएर नयाँ वर्ष लाग्ने भएकाले चाकचाकुर महोत्सव गर्ने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका कुलुङको भनाइ छ ।
प्रकृतिलाई पुजा आराधाना गर्ने, शक्ति माग्ने, अर्को सालको लागि कस्तो किसिमको काम गर्ने भन्ने बारेमा समुदायमा बसेर छलफल गर्ने लगायतका चलनलाई संरक्षण गर्ने हेतुले कुलुङ जातीको बसोबास रहेको स्थानमा मनाउन थालिएको उहाँको भनाइ रहेको छ । यस पर्वले कुलुङ समुदायको आत्मियता भल्काउदै एक अर्कामा सद्भाव बढाउन ठुलो भूमिका बढाउने विश्वास रहि आएको छ ।
चाकचाकुर महोत्सव सांस्कतिक भएकाले मुन्दुम टे«ल भ्रमण वर्षलाई यसले सहयोग पुग्ने कुलुङको भनाइ छ । मुन्दुम ट्रेलको महत्व धार्मिक एवं सांस्कृतिक क्षेत्रमा विकास गर्ने भएकाले चाकचाकुर महोत्सवलाई पनि सहयोग पुग्ने छ ।
मुन्दुम ट्रेल भ्रमण वर्षको अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकासहित भोजपुरको साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेड पाण्डा तथा थार महोत्सव आयोजना सम्पन्न गरेको छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने ‘मुन्दुम ट्रेल’ तीन हजार १ सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा चार हजार १ सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिने बताइएको छ ।
पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने जनाइएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षको अवसरमा आन्तरिक र बाह्य गरेर १ लाख हाराहारी पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।
– फायल फोटो