सोलुखुम्बु, बैशाख ४ । बराहपोखरी गाउँपालिका खोटाङले पालिकामा बसाँइ सरी आएका बेद बहादुर खड्कालाई प्रोत्साहन गरेको छ । आज बिहिबार गाउँपालिका अध्यक्ष शालिकराम बन्जारासहितको टोलीले खड्कालाई नगद १ लाख रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेको हो ।
वि.स २०६३ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दह बसाँइ सराइ गएका खड्का परिवार पुन आफै जन्मभूमी हालको बराहपोखरी गाउँपालिका वडा नं. ६ मौवाबोटेमा बसाइ सरी आउनु भएको हो । सम्पूर्ण कागत जातसहित आएर घर निमार्ण सम्पन्न गरिसक्नु भएका खड्का परिवारलाई पालिकाले १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको पालिकाका रोजगार सहायक सुनिल मगरले बताउनुभयो ।
आगामी दिनहरुमा पनि यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउने पालिका अध्यक्ष बन्जराले बताउनुभयो । साथै अन्य महानुभावहरुमा पनि जन्मभुमी प्रतीको माया र सद्भाव कायम राख्दै जन्मभूमीलाई सुबिधा सम्पन्न बनाइ गाउँ फर्क अभियान चलाउनु पर्ने उहाँको भनाइ रहेको छ ।
आफू जन्मेको जन्म भूमीमा आगामी दिनमा फर्किएर आउनेलाई पालिकाले सहयोग गर्ने अध्यक्ष बन्जराले बताउनुभयो । बसाँइ सरी फर्केर आउनु भएका खड्काले पालिकाले गरेको प्रोत्साहनले आफू हर्षित भएको बताउनुभएको छ ।
उक्त प्रोत्साहन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित मौवाबोटेका वडाध्यक्ष दुर्गा बहादुर राई, फाक्टाङका वडाध्यक्ष सन्तोष आर्चाय, सुन्तलेका वडाध्यक्ष पदम बहादुर मगर, वडा सदस्यहरु, गाउँपालिकाका शिक्षा अधिकृत विज्ञान राउत, रोजगार सहायक मगरसहित विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।