सोलुखुम्बु, वैशाख ४ । हिमाली जिल्ला सोलुखुम्बुमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन क्षेत्रमा आज एक पुरुषको वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार बिहिवार बिहान करिब ५० देखि ५५ वर्ष उमेरका, तराई मूलका जस्तो देखिने एक पुरुषको शव फेला परेको हो।
उहाँले भन्नुभयो “प्रारम्भिक अनुमानअनुसार ती व्यक्ति मागी खाई हिँड्ने प्रवृत्तिका देखिएका छन्। शवको पहिचान खुल्न सकेको छैन, हामी कोसिस गरिरहेका छौँ ।”
शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको कानुनी प्रक्रिया पूरा गरी शव फाप्लु अस्पतालको शवगृहमा राखिएको छ।
हालसम्म कोही आफन्त वा नातागोता सम्पर्कमा नआएकाले प्रहरीले शवको पहिचानका लागि सर्वसाधारण तथा सम्बन्धित पक्षलाई सहयोग गरिदिन आग्रह गरेको छ।
शव फेला परेको स्थानको अनुसन्धान भइरहेको र आवश्यक प्रक्रियाहरू अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।