खोटाङमा बाँदर धपाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु वैशाख ४ । खोटाङमा बाँदर धपाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकाल रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बाँदर धपाउन गएका ढकाललाई विद्युत्को पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली आज घटनास्थलमा गएको उहाँले बताउनुभयो ।

बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो। उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए ।

जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो । विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।

घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार