सोलुखुम्बु, बैशाख ५ । मध्य पहाडी जिल्लाखोटाङमा एकै दि छुट्टाछुट्टै घटनामा परी दुईजना पुरुषको ज्यान गएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गंगाप्रसाद ढकालको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरवपालिका–३ च्यास्मिटारका ६० वर्षीय भियुनशेर राईको भीरबाट लडेर ज्यान गएको हो ।
जङ्गलबाट आएको बाँदर धपाउन जानुभएका गंगाप्रसाद ढकाललाई विद्युतको पोलमा प्रवाह भएको करेन्ट बिहीबार दिउँसो लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा दिउँसो करिब १ बजे करेन्ट लागेर गंगाप्रसाद ढकालको मृत्यु भएको पुष्टि भएको बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले बताउनुभयो ।
मकै गोड्दागोड्दै खाली खुट्टा बाँदर धपाउन गएको श्रीमान विद्युतको पोल नजिकै ढलेपछि श्रीमती र बहिनी ढकाललाई उठाउन गएको बुझिएको छ । उनीहरुले उठाउँदा ढकालको मृत्यु भइसकेको पाएपछि गाउँले तथा प्रहरीलाई खबर गरेको जनाइएको छ ।
यस्तै च्यास्मिटारका भियुनशेरले नातिसँग उदयपुर जाँदै गरेको अवस्थामा घुम्तीस्थित ठूलोखोला नजिकैको भीरबाट लडेर बिहीबार बिहान नै ज्यान गुमाएको प्रत्यक्षदर्शीले बताएका छन् । साँघुरो बाटो रहेको ठूलोखोला नजिकैको भीरको माथिबाट करिब ७० मिटर तल खस्नुभएका भियुनशेरको ढुङ्गामा बज्रिएर घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।