सोलुखुम्बु, वैशाख ५ । मुलुकको पर्यटकीय स्थलमा रहेको एक व्यस्त लुक्ला विमानस्थल विवादमा परेको छ। मौसम सफा हुँदाहुँदै पनि नियोजित रूपमा जहाज मोडिएको (डाइभर्ट गरिएको) आरोप लुक्ला टावरमाथि लागेको छ।
पर्यटन व्यवसायमा सक्रिय तारा एयरका लुक्ला इञ्चार्ज अमृत मगरका अनुसार विमानस्थल टावरका प्रमुखले समन्वयको अभाव देखाउँदा पर्याप्त भिजिबिलिटी हुँदाहुँदै पनि लुक्लाका लागि तय भएका उडानहरू फर्कन बाध्य भएका छन्। “टावरको लापरवाही र समन्वयको कमजोरीले जहाजहरू क्रमशः डाइभर्ट भएका छन्,” उहाँले भन्नुभयो ।
परिणामस्वरूप, लुक्लाबाट फर्कन चाहने तथा सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकहरू हवाइ सेवा पर्खिंदै समस्यामा परेका छन्। यसले पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको भन्दै विमान कम्पनीका प्रतिनिधिहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणको लुक्ला कार्यालयमा ध्यानाकर्षण गराएका छन्।
तर नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख जिनिस राजभण्डारीले भने मौसम प्रतिकूलताकै कारण जहाज अवतरण अनुमत दिन नसकिएको स्पष्ट पार्नुभयो। “मौसमको अवस्थालाई प्रविधिमार्फत हेर्ने प्रणालीका आधारमा निर्णय गरिन्छ। जोखिम मोल्न हुँदैन,” उहाँले भन्नुभयो।
हाल लुक्लास्थित विमानस्थल प्रतिनिधि र प्राधिकरणबीच समन्वयको अभाव देखिँदा समस्या गहिरिँदै गएको पर्यटन क्षेत्रका जानकारहरूको विश्लेषण छ। मौसमसम्बन्धी प्रविधि, टावरको निर्णय प्रक्रिया र विमान कम्पनीबीचको प्रभावकारी संवादको खाँचो औँल्याउँदै जानकारहरूले समस्या समाधानका लागि संवादको मार्ग अपनाउनु पर्ने सुझाव दिएका छन्।