सोलुखुम्बु, बैशाख ७ । इलाका प्रशासन कार्यालय सोताङ सोलुखुम्बुबाट ६ सय ७२ थान नागरिकता जारी गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी चैत मसान्तसम्मको ९ महिनाको अवधीमा उक्त नागरिकता जारी गरिएको हो । जसमा ३ सय ९१ थान नयाँ र २ सय ८१ थान प्रतिलिपि नागरिकता रहेको कार्यालयका सहायक कम्प्युटर अपरेटर टिकाराम राईले बताउनुभयो ।
उहाँका अनुसार साउनमा ८१, भदौमा ८४, असोजमा ३५, कार्तिकमा ४३, मंसिरमा १ सय १७, पुसमा १ सय ३७, माघमा ४८ र चैत महिनामा ३२ थान नयाँ र प्रतिलिपि गरेर नागरिकता जारी गरिएको हो ।
यस्तै सोही अवधीमा १ सय १३ जनाले राहदानी बनाएका छन् । यस्तै कार्यालयले ९ महिनामा ५१ जनालाई आदिवासी जनजातीको सिफारिस प्रदान गरेको छ भने ७ सय ३७ जनाले राष्ट्रिय परिचय बनाउनका लागि विवरण दर्ता गराएका छन् । इलाका प्रशासन कार्यालय सोताङबाट महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका नागरिकहरुले सेवा लिँदै आएका छन् ।