सोलुखुम्बु, बैशाख ८ । एकैदिन झण्डै ७ सय पर्यटक खुम्बु प्रवेश गर्दा होटल भरिभराउ भएका हुन् । आज सोमबार ६ सय ९४ जना पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गर्दा सो क्षेत्रमा होटलहरु भरिभराउ भएका हुन् । जसमा ६ सय ८ जना विदेशी र ८६ जना नेपाली पर्यटक रहेका सगरमाथा राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार नाम्चेको यात्रामा भने ६ सय ५२ जना विदेशी र१ सय ५१ जना नेपालीहरु रहेका छन् । वसन्त यामको सिजनमा खुम्बु क्षेत्रमा आएका पर्यटकहरुले होटलमा बास पाउन समेत मुस्किल भएको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले बताउनुभयो ।
विगतका दिनमा भन्दा आज मौसम समेत अनुकुल भएकाले पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने खुम्बु सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । खुम्बु क्षेत्रमा आएका पर्यटकले व्यवसायीहरु हर्षित भएका छन् ।
खुम्बु क्षेत्रमा आएका पर्यटकहरुले खुलेको मौसममा सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले राजस्व संकलन समेत गर्ने गरेको छ । उक्त राजस्वले देशको अर्थतन्त्रमा ठुलो सहयोग पुराउदै आएको छ ।
यस सिजनमा आएका पर्यटक मध्ये कतिपयले भने विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गर्ने गरेका छन् । काठमाण्डौं र रामेछाप जिल्लाको मन्थलीबाट जहाज तथा हेलिकप्टर मार्फत लुक्लामा पुगेका पर्यटकहरु खुम्बु क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन् ।