कांग्रेस सांसद राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु, बैशाख १४ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेलाई गराइएको छ । जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

राईलाई काठमाण्डौ कपनमा रहेको निवासबाटै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई घरबाटै पक्राउ गरेको बताउनुभयो ।

राई स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आउनु भएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद समेत रहनु भएको छ । पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुनेछ ।

राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उहाँ २०७४ सालमा सहकारीको सहसचिव रहनु भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।

स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले एक अर्ब १९ करोड रुपैयाँभन्दा धेरै ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार