सोलुखुम्बु, वैशाख १४ । विश्वप्रसिद्ध अमेरिकी जलवायु विज्ञ चाल्र्स बेडफोर्डले भावी पिँडीका लागि पनि हिमाल जोगाउनुपर्नेमा जोड दिनुभएको छ । सोलुखुम्बुको थामेमा साथसाथै फाउडेसनले आयोजना गरेको “आरोही सम्मेलन” लाई सम्बोधन गर्दै कार्बन ग्रोथ पार्टनर्सका निर्वतमान प्रमुख समेत रहेका चाल्र्सले यस्तो बताउनुभएको हो ।
जलवायु परिवर्तनको समस्या विज्ञान मात्र नभई राजनीतिक वृतको विषय भएको उल्लेख गर्दै, “अब हामी आफैं आफ्ना समाधानहरू निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
चाल्र्स बेडफोर्ड, जसले विश्वव्यापी संरक्षण र जलवायु वित्त क्षेत्रमा ३० वर्षभन्दा बढी काम गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो मैले भाग लिएको सबैभन्दा रोचक जलवायु सम्मेलन हो । यद्यपि भाषागत अवरोधले सबै कुरा बुझ्न सकिन, तर यहाँको प्रतिबद्धता र सकारात्मक ऊर्जा गहिरो अनुभूति भयो । ” जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलाहरू र गरीब समुदायमा पर्ने उल्लेख गर्दै समाधानहरू निर्माणका लागि स्थानीय र क्षेत्रीय तहमा सक्रियता बढाउन चाल्र्सले आह्वान गर्नुभयो ।
“साँचो सुरक्षा भनेकै स्थिर जलवायु हो। रक्षा मन्त्रीज्यूले यो कुरा चाँडै बुझ्नुभएको छ, जुन अत्यन्त प्रशंसनीय छ,“ बेडफोर्डले भन्नुभयो । बेडफोर्डले पेरिस सम्झौताको धारा ६ को चर्चा गर्दै नेपालले कार्बन बजारबाट अर्बौं डलर भित्र्याउने ठूलो अवसर रहेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारलाई नयाँ कर नीति तथा जलवायु वित्तीय संरचनालाई सुधार गर्ने, जीवाश्म इन्धनका अनुदान हटाउने, र हानी तथा क्षति कोष स्थापना गर्ने सुझाव दिनुभयो । “यी जटिल उपायहरू भए पनि यात्रा पहिलो पाइला चाल्दा नै सुरु हुन्छ भन्ने कुरा थामेका आरोहीहरूले राम्ररी बुझ्छन् । अब हामीले पनि पाइला चाल्न सुरु गर्नुपर्छ,“ उहाँले भन्नुभयो ।
हिमाली विपत्तिपछिको पुनर्निर्माण र जलवायु न्यायमा जोड
थामे गाउँ हालसालै हिमताल फुटेर आएको बाढीबाट तहसनहस भएको थियो । सम्मेलनले सो विपत्तिपछिको पुनर्निर्माण र दीर्घकालीन जलवायु न्यायका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माताहरूको ध्यान आकर्षित गर्ने प्रयास गरेको हो ।
सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको सन्दर्भमा, साथसाथै फाउण्डेसनद्वारा आयोजित यो सम्मेलनलाई सो संवादको पूर्व तयारीको रूपमा समेत हेरिएको छ । सम्मेलनले हिमाली बस्तीहरूका आवाजलाई उजागर गर्दै नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने आशा गरिएको छ ।