सगरमाथा संवादका लागि कतारी राजकुमारी अलथानीलाई निमन्त्रणा

  सुवास दर्नाल/रासस
28 Shares

सोलुखुम्बु, वैशाख १४ । जलवायु परिवर्तनबारे विश्वव्यापी बहस अघि बढाउन नेपाल सरकारले आयोजना गर्न लागेको “सगरमाथा संवाद” कार्यक्रमका लागि कतारकी राजकुमारी आस्ता अलथानीलाई औपचारिक निमन्त्रणा दिइएको छ।

साथैसाथै फाउन्डेसनले हालै थामेमा सम्पन्न गरेको अन्तरास्ट्रिय आरोही सम्मेलनमा सहभागी हुन नेपाल आएकी राजकुमारी अलथानीलाई वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले निमन्त्रणा गर्नुभएको हो। राजकुमारी अलथानी स्वयं सगरमाथा आरोहण गरिसकेकी प्रथम कतारी महिला समेत हुनुहुन्छ ।

नेपाल सरकारको आयोजनामा हुन लागेको सगरमाथा संवाद जलवायु परिवर्तन तथा जलवायु न्यायको सवालमा एक महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च बन्ने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनको चपेटामा रहेका हिमाली राष्ट्रहरुको साझा आवाज उठाउने उद्देश्यले सरकार आगामी जेठ २ गतेदेखि सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्दैछ।

राजकुमारी अलथानीले निमन्त्रणालाई सकारात्मक रूपमा स्वीकार गर्दै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएक छ। उहाँले हिमालको फेदीमा बसेर जलवायु परिवर्तनमाथि गरिने यस्तो प्रकारको संवादले विश्व समुदायमा प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ । “जलवायु न्यायका लागि हिमाली राष्ट्रहरुको आवाजलाई यस्तो अन्तर्राष्ट्रिय मञ्चबाट प्रस्तुत गर्नु अत्यन्तै सराहनीय प्रयास हो,” राजकुमारीले भन्नुभयो ।

सगरमाथा संवादमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट जलवायु विज्ञ, वैज्ञानिक, नीति निर्मातालगायत सरोकारवालाहरूको सहभागिता रहने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममार्फत जलवायु परिवर्तनविरुद्धको सहकार्य र साझा रणनीति तय गरिनेछ।

सरकारले सगरमाथा संवादलाई नेपालले अग्रसरता लिएको हरित कूटनीतिक पहलको महत्वपूर्ण अंशका रूपमा हेरेको छ। साथै यस कार्यक्रमले नेपालमा दिगो पर्यटन, वातावरणीय चेतना र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बल दिने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार