सोलुखुम्बु, बैशाख १४ । सरकारले शिक्षकका सबै माग पुरा गर्दा देशले करिब दुई खर्ब आर्थिक भार व्यहोनु पर्ने राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पाले बताउनु भएको छ ।
आज आइतबारको राष्ट्रियसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोलुखुम्बुका सांसद शेर्पाले ‘शिक्षा ऐनका सम्बन्धमा प्रदर्शनरत शिक्षक र सरकार दुवै पक्षबीच छलफल र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने भन्दै शिक्षकका सबै माग पूरा गर्दा राज्यको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनु भएको हो ।
उहाँले शिक्षकका सबै माग पूरा गर्ने हो भने देशले करिब दुई खर्ब आर्थिक भार व्यहोर्नुपर्ने बताउदै अहिले बनाइरहेको ऋणात्मक बजेटले देशका लागि कस्तो प्रभाव पार्छ, त्यसबारेमा पनि सोच्न जरुरी रहेको धारणा राख्नु भएको थियो । उहाँले देशको अर्थतन्त्र त्यति राम्रो नभएकाले राम्रोसँग कर नउठेको बताउनुभयो ।
सांसद शेर्पाले संविधानको मर्मअनुसार जनताका पक्षमा कानुन बनाउने विषयमा सरकार सचेत रहेको प्रष्ट पार्नु भएको छ । बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै उहाँले निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यथाशीघ्र अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । स
बै दल मिलेर संविधानबमोजिम कानुन निर्माण सक्नुपर्ने हो तर हामी एकले अर्कालाई दोष मात्रै लगाउँदै आएका उहाँको भनाइ छ । अब देशको विकासका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्ने बेला आएको सांसद शेर्पाले बताउनुभयो ।
सबै राजनीतिक दलले आफू सत्तामा हुँदा सबै ठिक देख्ने र नहुँदा बेठीक देख्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउँदै विद्यालय शिक्षक ऐन जारी गर्ने सम्बन्धमा सबैको सहमति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद शेर्पाले आत्म केन्द्रित राजनीतिक प्रणालीलाई निरुत्साहित गर्दै संस्थागत राजनीतिका रूपमा विकास गर्न आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।